बागलुङमा तीन सय वर्ष पुरानो हनुमान नाचको संरक्षण, युवापुस्ताको बढ्दो आकर्षण

वैशाख २९, २०८३ |प्रदीप पन्त
बागलुङमा तीन सय वर्ष पुरानो हनुमान नाचको संरक्षण, युवापुस्ताको बढ्दो आकर्षण

बागलुङ । करिब तीन सय वर्षअघि भक्तपुरबाट नेवार समुदायले बागलुङमा भित्र्याएको मौलिक हनुमान नाचको संरक्षण थालिएको छ । 

इतिहासकारहरूका अनुसार मल्लकालीन राजा भुपतिन्द्र मल्लले सुरू गर्नुभएकाे नाच बागलुङमा बसाइँसराइ गरी आएको नेवार समुदायले निरन्तरता दिँदै आएको छ । बागलुङको पर्यटन प्रवर्द्धन र स्थानीय कला संस्कृतिको संरक्षण गर्नेगरी मौलिक परम्परा बोकेको हनुमान नाच सबैको आकर्षणको केन्द्र बनेको छ । 

विधि प्रक्रिया पूरा गरी पूजाअर्चनाका साथ यो नाच नाच्ने गरिन्छ । विभिन्न २४ तालमा नाचिने नाच अहिले १० तालमामात्रै आधारित रहेको छ । पछिल्लो समय हनुमान नाचमा युवा पुस्ताको समेत आकर्षण बढ्नथालेको छ । कलात्मक र आकर्षकको रूपमा रहेको नाच अहिले नेवार समुदायबाहेक अन्य समुदायका कलाकारहरूले सहभागी जनाउँदै प्रवर्द्धनमा टेवा पुर्‍याउन थालेका छन् । 

पाँच-पाँच वर्षको अन्तरालमा नाचिने हनुमान नाच यसपटक नौ वर्षपछि नचाइएको छ । झन्डै एक सय जनाको समूहभित्रका १३ जोडी कलाकारले एकापसमा लौरो ठोक्दै झयाली र मृदङ्गी तालमा हनुमानको भेष पहिरेर नाचिने गरिएको छ । हनुमान नाच लोकसंस्कृतिको रूपमा पुस्ता हस्तान्तरण गर्दै संरक्षणको लागि संस्थागतरूपमा वर्षौादेखि विकास हुँदैआएको छ ।

बागलुङको पुरानो संस्कार र संस्कृतिकोरूपमा हनुमान नाच रहेको छ । यसको संरक्षण प्रवर्द्धनको लागि स्थानीय तहसमेत जुटेको छ । हनुमान नाच एकपटक नचाउँदा एक लाख रूपैयाँसम्म खर्च लाग्ने गर्दछ । जनशक्ति र आर्थिक लागत धेरै लाग्ने भए पनि यसको निरन्तरमा यहाँको नेवार समुदायको जुटेको छ ।  यो नाच पछिल्लो समय पर्यटकको रोजाइमा समेत पर्दै गएको छ ।


Image

प्रदीप पन्त

पन्त कान्तिपुर टेलिभिजनका बागलुङ संवाददाता हुन् ।