विवाह भोजकै बेला विनाश : सप्तरी आगलागीमा २१ घर जले, पीडित बेघर

वैशाख २८, २०८३ |आरएन विश्वास
विवाह भोजकै बेला विनाश : सप्तरी आगलागीमा २१ घर जले, पीडित बेघर

सप्तरी । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका-६ बभनगामामा शनिबार राति भएको भीषण आगलागीमा १० परिवारका २१ वटा घर जलेर खरानी भएका छन्। 

आगलागीबाट सर्वस्व गुमाएका पीडित परिवार अहिले खुला आकाशमुनि बस्न बाध्य छन्। शनिबार राति बभनगामामा आगलागी भएको हो। स्थानीयहरु छिमेकीको घरमा भइरहेको विवाह भोजमा सहभागी भएका बेला अचानक विद्युत् सर्ट भएर आगलागी भएको बताइएको छ। 

आगोले स्थानीय १० परिवारका २१ वटा घर पूर्णरूपमा जलेपछि करिब ५० लाख रूपैयाँ बराबरको क्षति भएको गाउँपालिकाले जनाएको छ। आगलागीमा घरसहित नगदसमेत जलेर नष्ट भएको छ। बन्धक रहेको जग्गा छुटाउन श्रीमानले मलेसियाबाट पठाएको २ लाख रुपैयाँसमेत आगोमा जलेर खरानी भएको भन्दै स्थानीय अग्निपीडित पिंकीदेवी यादवले दुःख व्यक्त गर्नुभयो।

पिंकीदेवी र रामा यादवजस्तै पीडा बभनगामाका सबै १० अग्निपीडित परिवारको छ। आगलागीले घर, अन्नपात, लत्ताकपडा र जीवनभरको कमाइ खरानी बनाएपछि उनीहरू अहिले खुला आकाशमुनि रात काट्न बाध्य छन्। अब जलेर खरानी भएको घर कसरी पुनः निर्माण गर्ने र परिवारको गुजारा कसरी चलाउने भन्ने चिन्ताले पीडित परिवारहरूलाई झन् पिरोलिरहेको छ।

यता तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष अरुण मण्डलका अनुसार पालिकाले तत्काल राहतस्वरूप अग्निपीडित परिवारलाई मुरही, च्यूरा, भुजिया, चामल, तेल, दाल र नुनलगायतका खाद्य सामग्री वितरण गरेको छ भने खुला आकाशमुनि बस्न बाध्य पीडितका लागि त्रिपालको समेत व्यवस्था गरिएको छ। 

तर, पीडितका लागी भने यति मात्रै पर्याप्त देखिएको छैन। घर, अन्नपात र जीवनभरको आधार गुमाएका पीडितहरू अझै असुरक्षित अवस्थामा रात कटाउन बाध्य छन्। त्यसैले तत्काल राहतसँगै सुरक्षित आवास निर्माण, खाद्यान्न व्यवस्थापन र दीर्घकालीन पुनःस्थापनातर्फ तीनै तहका सरकारको ध्यान पुग्न आवश्यक छ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।