
दार्चुला । दार्चुलाको दुर्गम गाउँ दुम्लिङ्गमा गाडी पुगेको छ । नेपाली सेनाले बनाइरहेको महाकाली कोरिडोरअन्तर्गतको तुसारपानी-तिंकर सडकखण्डको दुम्लिङ्ग गाउँसम्म गाडी पुगेको हो ।
दार्चुला-तिंकर सडकअन्तर्गतको तुषारपानी-कोठेधार-तिंकर सडक निर्माण गरिरहेको सेनाले चालु आर्थिक वर्ष २०८२/८३ मा व्यास गाउँपालिका-२ कल्जुसम्म ट्रयाक खोलेकोमा दुम्लिङ्गसम्म गाडी चल्ने भएको छ । दुम्लिङ्गसम्म गाडी पुगेपछि भारतीय बाटो प्रयोग गर्नुपर्ने अवस्थाको अन्त्य भएकोमा स्थानीय खुशी छन् । उनीहरूले सडक नियमितरूपमा सञ्चालनका लागि आग्रहसमेत गरेका छन् । गाउँमा गाडी पुगेपछि दुम्लिङका स्थानीयले दैनिक उपभोग्य सामानदेखि निर्माण सामग्री ढुवानी गर्न सहज भएको छ । तुषारपानीदेखि तिंकरसम्मको ७९ किलोमिटरमध्ये अहिलेसम्म २२ दशमलव १५ किलोमिटरमा ट्रयाक खोलिएको छ ।
अहिले पनि निर्माण कार्य चालु रहेको सेनाले जनाएको छ । आर्थिक वर्ष २०७७/७८ देखि नेपाली सेनाले यहाँ सडक निर्माण गरिरहेको छ । तर बजेट अभावले १० वर्षमा ट्रयाक खोल्ने लक्ष्य प्रभावित हुने सक्ने जनाइएको छ । चालु आर्थिक वर्षमामा २५ करोड बजेट माग गरेकोमा सरकारले पाँच करोड ३१ लाख मात्रै विनियोजन गरेको थियो ।