हात्ती आतंकले बर्दियाको खाता जैविक मार्ग त्रसित, घर र अन्नबाली दुवै सखाप

वैशाख २१, २०८३ |कमल पन्थी
हात्ती आतंकले बर्दियाको खाता जैविक मार्ग त्रसित, घर र अन्नबाली दुवै सखाप

बर्दिया । बर्दियाको खाता जैविक मार्गमा हात्तीले बर्षेनि घर भत्काउँदा स्थानीय बासिन्दालाई सकस छ । 

जैविक मार्गको मधुवन नगरपालिका-१ पत्थरबोझीस्थित वनछेउमा रहेका घर हात्तीले बारम्बार भत्काइदिँदा पीडित परिवारले छरछिमेक र आफन्त हारगुहार गरेर एक अर्काको घर बनाइरहनुपर्छ । बर्दियाको मधुवन नगरपालिकास्थित खाता जैविक मार्गमै पर्छ महंगु चौधरीको थातथलो । 

जहाँबाट हात्ती, गैँडा, बाघलगायतका वन्यजन्तु बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनियाघाट आरक्ष ओहोर दोहोर गर्छन्। यही कारणले महंगुको परिवार रातमा चैनको निद सुत्न पाउँदेन । हात्तीले खाता जैविकमार्ग आउजाउ गर्दा यहाँका किसानले लगाएको अन्नबाली खाएर सखाप पार्नुका साथै घरसमेत भत्काइदिन्छ । 

मानवीय क्षतिसमेत पुर्‍याउँदै आएको छ । यसपटक पनि हात्तीले १५/२० वटा घर भत्काइसकेको छ । घर भत्काइदिएपछि पीडित परिवारहरू एकापसमा मिलेर आफन्तको सरसहयोग लिँदै फेरि घर बनाइरहेका छन् । यस क्षेत्रमा वन्यजन्तु रोक्न लगाइएको विद्युतीय तार जिर्ण भइसकेको छ । 

त्यसैले यहाँ हात्तीलगायत वन्यजन्तु बस्तीमा पसेर क्षति पुर्‍याउँदै आएका छन् । शौच गर्न बाहिर निस्किन समेत वन्यजन्तुकै डर छ । सरकारले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न ठाकुरबाबा क्षेत्रमा जस्तै यहाँ पनि बलियो छेकबार बनाउनुपर्ने माग स्थानीयले राखेका छन् ।


Image

कमल पन्थी

पन्थी कान्तिपुर टीभीका बर्दिया संवाददाता हुन् ।