
काठमाडौँ । चौतर्फी आलोचना र सर्वसाधारणमा आक्रोश बढेपछि भारतीय बजारबाट घरायसी प्रयोजनका लागि सामान ल्याउन मधेशका सीमानाका खुकुलो पारिएको छ ।
सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउन अनिवार्य भन्सार कटाउनु पर्नेभन्दै सुरक्षाकर्मीले कडाइ गरेपछि सर्वसाधारण मारमा परेको गुनासो र आक्रोश बढेपछि घरायसी प्रयोजनका लागि सामान ल्याउन नाका खुकुलो पारिएको हो । कानुनमा भन्सार लाग्ने व्यवस्था भए पनि व्यावहारिक रूपमा घरायसी सामानमा सुरक्षाकर्मीले छुट दिए पछि सर्वसाधारण भारतीय सीमावर्ती बजाबाट तेल, चीनी, मसला, आलु, प्याज, खाद्यान्न, लत्ताकपडा लगायत घरायसी प्रयोजनका सामान थोरै मात्रमा ल्याउन थालिएको छ ।
विराटनगरस्थित रानी नाकामा सय रूपैयाँ माथिको सामानमा राजश्व कडाइ कायमै छ । त्यसो हुँदा विराटनगरमा व्यापार फस्टाउनुपर्ने हो तर त्यसो हुन सकेको छैन । विराटनगरको व्यापार फस्टाउनका लागि सरकारले भन्सार मूल्याङ्कन कम गर्नुपर्ने त्यहाँका व्यापारी बताउँछन् ।
उता बाँकेको जमुनाहा नाकामा भन्सार कडाइ गरिएकाले सीमावर्ती क्षेत्रको व्यापार र उपभोक्ताको व्यवहारमा ठूलो परिवर्तन देखिएको छ। एक सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार तिर्नुपर्ने व्यवस्थाले नाकाको गतिविधि नै फेरिएको छ।
पहिले दिनहुँ भारततर्फ किनमेलका लागि जाने नेपाली उपभोक्ताको भीड लाग्ने जमुनाहा नाकामा अहिले चहलपहल घटेको छ। सुरक्षाकर्मीले जाँच कडा बनाएका कारण साना सामानमा समेत कर तिर्नुपर्ने अवस्था आएको छ। यसको सकारात्मक प्रभाव नेपालगञ्ज बजारमा देखिन थालेको छ व्यवसायीहरू आफ्ना पसलमा ग्राहक बढिरहेको बताउँछन् ।
नाकामा खुकुलो स्थानीय उपभोक्ताका लागि नभई भारतमा काम गरि फर्किने नेपालीहरूका लागि मात्रै भएको भन्सार प्रशासनले जनाएको ५ । नेपालगञ्जको भारतीय सीमावर्ती बजार रुपैडियाका व्यापारीहरूले भने नेपाली ग्राहक घट्दा व्यापार नै घटेको बताएका छन्।