
काठमाडौँ । वालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार गठनको एक महिना पूरा भएको छ । झन्डै दुईतिहाइ बहुमतसहितको सरकारले यो अवधिमा शासकीय सुधार र सुशासन बहालीका लागि पहल अघि बढाएको छ । सरकारको कामले सकारात्मक सन्देश दिए पनि विधि र कानुनी प्रक्रिया अवलम्बनमा चुक भएको भन्दै आलोचना समेत भएका छन् ।
चैत १३ गते प्रधानमन्त्रीका रूपमा सपथ ग्रहण गरेका वालेन्द्र शाहले सोही दिन १५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो । मन्त्री नियुक्त गरेर मन्त्रीमण्डललाई पूर्णता दिन महिनौँ लगाउने गरिएको विगतको परम्परालाई बिर्साउँदै एकैदिन सबै मन्त्रीले कार्यभार सम्हालेका थिए । सोही दिन बसेको नयाँ सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले भदौ २३ र २४ गते भएको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने लगायतका निर्णय गर्यो । र, तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको थियो । यद्यपि पक्राउ परेका दुवैजना अदालतको आदेशपछि अहिले हिरासत बाहिरबाट मुद्दा लडिरहेका छन् ।
यस्तै शासकीय सुधारका लागि भन्दै विभिन्न क्षेत्रका १ सय बूँदा समेटिएको कार्यसूची सार्वजनिक गरेर आफ्नो कार्यसम्पादन सूची सार्वजनिक गरेको सरकारले नेपालमा सञ्चालनमा रहेका अनलाइन बेटिङ र सट्टेबाजी प्ल्याटफर्महरू बन्द गर्ने लगायत निर्णय गर्यो । २४ घण्टाभित्र पूर्णरूपमा सञ्चालमा रोक लगाउने सरकारले तयारी गरे पनि ती प्ल्याटफर्म अझै पूर्णरूपमा बन्द भएको छैन । तत्कालीन सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् बैठकले २०८२ पुस १४ मा गठन गरेको सुशासन मार्गचित्र सम्बन्धी समितिको प्रतिवेदन नयाँ सरकारले चैत १५ मा सार्वजनिक गर्यो । अर्कोतर्फ प्रधानमन्त्री शाहले कूटनीतिक नियोगका प्रतिनिधि र प्रमुखसँग गरेको सामूहिक भेटले सकारात्मक सन्देश दिएको छ ।
सरकारको कर्यशैलीप्रति आधिकाशं क्षेत्रबाट समर्थन भइरहँदा यहीबीचमा गरिएको कर्मचारी संगठन खारेज, विद्यार्थी संगठन खारेज गर्ने र सरकारी विज्ञापन नीजि सञ्चारमाध्यमले छाप्न नपाउने निर्णय भएपछि आलोचना भइरहेको छ ।
यसबीचमा गृहमन्त्री सुधन गुरुङ र श्रममन्त्री दीपक साह पदमुक्त हुनुभएको छ । साह चैत २२ र गुरुङ वैशाख ९ मा पदमुक्त हुनुभएको हो ।
शासकीय सुधार र सुशासनका लागि सरकारले यो अवधिमा चालेको कदमको प्रशंसा भए पनि प्रक्रिया भने विधिसम्मत् नभएको आरोप लाग्न थालेका छन् ।