
काठमाडौँ । अविरल वर्षाका कारण हिजोदेखि बीपी राजमार्ग अवरुद्ध हुँदा अलपत्र परेका यात्रुहरूको उद्धार गरिएको छ । अलपत्र परेका ५ सय ८१ जना यात्रुलाई सुरक्षाकर्मीको सक्रियतामा उद्धार गरिएको हो ।
उद्धार गरिएका यात्रुहरूलाई पानी, चाउचाउलगायतका खाद्यान्न सामग्रीसमेत वितरण गरिएको छ । बीपी राजमार्गको काभ्रे खण्डको ठाउँठाउँमा लेदोपहिरो खस्नुका साथै रोशी खोलाको बहाव बढ्दा बाटो बन्द भएपछि यात्रुहरू अलपत्र परेका छन् । प्रहरीका अनुसार चौकीडाँडादेखि रोशी खोलाको किनारका अधिकांश डाइभर्सन बगाएकाले सडक खुलाउन फेरि अस्थायी ट्र्याक बनाउनुपर्ने छ । राजमार्ग खुलाउन समय लाग्ने देखिएको छ। यसैबीच जिल्ला प्रहरी कार्यालय, काभ्रेले सडक सुरक्षित भएको सुनिश्चित भएपछि मात्र सवारी सञ्चालन गरिने र त्यसबारे पुनः सूचना जारी गरिने जनाएको छ ।
यसैबीच बाढीले डाइभर्सन बगाएर बीपी राजमार्ग अवरुद्ध भएपछि पूर्वबाट छुटेका सवारीसाधन पुष्पलाल मार्ग हुँदै काठमाडौं आउन थालेका छन् । ओखलढुंगा,सोलुखुम्बु, रामेछापलगायतका जिल्लाबाट छुटेका सवारीसाधनले वैकल्पिक रूपमा पुष्पलाल मार्ग प्रयोग गरेपछि आज बिहानैदेखि यो सडकमा सवारी चाप बढेको ट्राफिक प्रहरी कार्यालय दोलखाले जनाएको छ । कोशी र मधेश प्रदेशबाट छुटेका साना ठूला सवारी साधनबर्दिबास-सिन्धुली,
खुर्कोट,-मन्थली- चरिकोट हुँदै अरनिको राजमार्ग निक्लेर काठमाडौ आउने क्रम बढेको ट्राफिक प्रहरीले जनाएको छ ।
त्यस्तै लगातारको वर्षाले अवरुद्ध मध्यपहाडी राजमार्गको भोजपुर–चखेवा–दिक्तेल हुँदै काठमाडौं जाने सडक एकतर्फी खुलेको छ ।
भोजपुर नगरपालिका–५ बोखिममा रहेको पुल बाढीले बगाउँदा यो सडक पूर्णरूपमा अवरुद्ध भएको थियो। हिजो साँझदेखि ठप्प भएको सडक मर्मतपछि २४ घण्टापछि एकतर्फी खुलेको हो ।
यसैगरी शनिबार साँझ परेको वर्षाका कारण अवरूद्ध भएको मध्यपहाडी राजमार्गको पूर्वीरूकु्म खण्ड पहिरो पन्छाएर सन्चालनमा आएको छ ।