
सुनसरी । प्रदेश सरकार र स्थानीय तहबीच समन्वय नहुँदा बजेट कसरी खेर जान्छ भन्ने उदाहरण इटहरीमा देखिएको छ ।
एउटै स्थानमा प्रदेश र स्थानीय सरकार आ-आफ्ना योजना कार्यान्वयन गर्न खोज्दा करोडौँ रकम लगानी गरी बनेका संरचना नै हराएको तथ्य फेला परेको हो । इटहरी उपमहानगरपालिका-५ को यो स्थानमा प्रदेश सरकारले निर्माण गरेको 'काव्य बाटिका फनपार्क' अहिले पूर्णरूपमा अस्तित्वविहीन बनेको छ ।
तत्कालीन १ नम्बर प्रदेश सरकारअन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पर्यटन विकास आयोजनामार्फत आर्थिक वर्ष २०७६/७७ मा ६० लाख रुपैयाँ खर्चेर निर्माण गरिएको उक्त पार्क अहिले देख्नै सकिँदैन । उपभोक्ता समितिमार्फत बनेको पार्क २०७६ फागुन ११ गतेदेखि काम सुरु गरी २०७७ असार १५ गते सम्पन्न भएको थियो ।
पार्क निर्माणमा प्रदेश सरकारको ६० लाख र उपभोक्ता समितिको करिब ६ लाख ९३ हजार रुपैयाँ खर्च भएको थियो । निर्माण सम्पन्न हुँदा पार्कभित्र बाटो, फलैँचा तथा दुईवटा शौचालयसहितका संरचना बनाइएका थिए । तर, अहिले तीमध्ये शौचालयका केही अवशेषबाहेक अन्य सबै संरचना पूर्णरूपमा हराइसकेका छन् ।
पार्क रहेको स्थानमै इटहरी उपमहानगरपालिकाले वडा नम्बर ५ को कार्यालय र सभागृह निर्माण सुरु गरेपछि पार्कको अस्तित्व मेटिएको हो । प्रदेशले निर्माण गरिसकेको संरचनामाथि पुनः अर्को योजना किन ल्याइयो भन्नेबारे स्पष्ट जवाफ कसैसँग छैन ।
यो घटनाले सरकारी निकायबीच समन्वय अभावको गम्भीर उदाहरणका रूपमा मात्र देखाएको छैन, एउटै स्थानमा दीर्घकालीन योजनाबिना फरक-फरक संरचना निर्माण गर्दा सार्वजनिक स्रोतको दुरुपयोग भएको उदांगो पारेको छ ।
यसअघि साहित्यिक तथा सांस्कृतिक गतिविधिको केन्द्रका रूपमा रहेको काव्य बाटिका क्षेत्रलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रदेश सरकारले फनपार्क निर्माण गरेको थियो । तर, अहिले न पार्क बाँकी छ, न त त्यसमा खर्च भएको रकमको कुनै औचित्य देखिएको छ ।