नदी किनारका अतिक्रमित बस्ती खाली गर्न सरकारले दिएको अल्टिमेट सकियो

शनिबार बिहान ६ बजेदेखि घर टहरा हटाइने
वैशाख ११, २०८३ |शिखा श्रेष्ठ
नदी किनारका अतिक्रमित बस्ती खाली गर्न सरकारले दिएको अल्टिमेट सकियो

काठमाडौं । सरकारले काठमाडौंका नदी किनारका अव्यवस्थित र अतिक्रमित बस्ती खाली गर्न दिएको अल्टिमेट सकिएसँगै भोलि बिहान ६ बजेदेखि घर टहरा हटाउने भएको छ । संघीय सरकारको निर्देशनमा काठमाडौंका थापाथली, तीनकुनेको गैरीगाउँ र मनोहरामा पहिलो चरणमा अतिक्रमित बस्ती खाली गर्ने सरकारको तयारी छ ।

हाल भक्तपुरमा पर्ने मनोहराको अतिक्रमित तथा सुकुम्वासी बस्ती पुरानो नक्सा अनुसार काठमाडौं वडा नम्बर ३२ भित्रै पर्ने भएकोले त्यहाँ पनि काठमाडौं प्रशासनले माइकिङ गरेर बस्ती खाली गर्न भनिसकेको छ । तीन स्थानमा अतिक्रमित तथा सुकुम्वासी बस्ती खाली गराउन ५० भन्दा बढी डोजर तयारी अवस्थामा राखिएको प्रशासन श्रोतले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज सूचना निकालेर नदी किनारका सार्वजनिक, सरकारी पर्ती जग्गाहरुमा अनधिकृत रुपमा घर टहरा बनाएर बसेकाहरुलाई आजै साँझ ७ बजेभित्र खाली गर्न निर्देशन दिएको थियो । प्रशासनले उक्त क्षेत्रमा बसोबास गर्ने अशक्त, बालबालिका, वृद्धवृद्धा लगायतलाई सुरक्षित स्थानमा लैजान र सामान सार्न प्रहरीको सहयोग लिन पनि आग्रह गरेको थियो ।

भोलिदेखि अतिक्रमित क्षेत्र खाली गर्दा अवरोध गरे कानुन बमोजिम कडा कारवाही गरिने र भत्काइने संरचना तथा क्षतिको जिम्मेवार स्वयं बस्नेहरु हुने चेतावनी पनि प्रशासनले दिएको छ ।

बस्तीबाट उठाइएका व्यक्तिहरुलाई सरकारले तोकेका ठाउँमा न्युनतम सुविधा भएका राखिने पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

वास्तविक भूमिहीन सुकुम्बासीको लगत लिने कार्य तत्काल सुरु हुने र १० देखि १५ दिनभित्र यकिन भएका वास्तविक भूमिहीनलाई बसोबासको उचित प्रबन्ध गर्ने तयारी भैरहेको पनि प्रशासनले जनाएको छ ।


Image

शिखा श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनकाे सुरक्षा ब्युराेमा कार्यरत छिन् ।