
काठमाडौँ । सरकारले संसद अधिवेशन बोलाएको दुई दिन बित्न नपाउँदै फिर्ता लिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अस्ति ८ गते संघीय संसद् बैठक आह्वान गर्नुभएको थियो । तर आज फेरि सरकारकै सिफारिसमा स्थगित गर्नुभएको हो ।
सरकारले विषेश कारण देखाउँदै १७ गतेका लागि आह्वान गरिएको संसद् अधिवेशन स्थगित गर्न आज राष्ट्रपतिलाई सिफारिस गरेको थियो । राष्ट्रपति कार्यालयद्वारा आजै जारी विज्ञप्तिमा सरकारको सिफारिस बमोजिम विशेष कारणवश संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान हाललाई स्थगित गर्नुभएको उल्लेख गरिएको छ ।
तर आजको मन्त्रिपरिषद्का निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा भने सिफारिसको निर्णयबारे जानकारी गराइएको थिएन ।
संसद् अधिवेशन बोलाएर एकदिनपछि नै स्थगित गराउने सरकारको कदमको भने अपरिपक्व र संसद्को गरिमा कमजोर बनाउने कदम भन्दै आलोचना भएको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले अधिवेशन बोलाएर फिर्ता लिनु सरकारको लापरबाही र सदनको मर्यादाको उल्लंघन गर्ने कदम भएको आरोप लगाउनुभयो । संसद्का पूर्वसचिव सोम थापाले भैपरी आउने विपद् वा आकस्मिक घटनामा बाहेक सामान्य अवस्थामा अधिवेशन स्थगित गर्नु समन्वय अभाव र सरकारकै कमजोरी भएको बताउनुभयो ।
संसद् सचिवालयका महासचिव पदम पाण्डेले सरकारसँग समन्वय भएको बताउँदै तयारी नपुगेको भनेको जानकारी दिनुभयो ।
संविधान बमोजिम जेठ १५ गते नयाँ बजेट ल्याउनुपर्छ । त्यसको १५ दिन अघि बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्नुपर्ने व्यवस्था छ । त्यसअघि संसद् बैठकमा नीति तथा कार्यक्रममा छलफल गर्नुपर्ने कानुनी व्यवस्था छ । विगतका अभ्यास हेर्दा छलफलका लागि कम्तीमा एक साताको समय छुट्याउनुपर्ने हुन्छ । त्यस हिसाबले पनि अधिवेशन आह्वानका लागि सरकारमाथि समयको दबाब छ ।
अस्ति मंगलबारको मन्त्रिपरिषद् बैठकको सिफारिसमा वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको थियो । यो अधिवेशन बजेट अधिवेशन पनि हो ।
यसअघि गत फागुन २१ गते भएको निर्वाचनपछि चैत १९ गते संसदको पहिलो अधिवेशन आह्वान भएको थियो । सो अधिवेशनले प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल र उपसभामुखमा रुवीकुमारी ठाकुर तथा राष्ट्रियसभाको उपाध्यक्षमा लीलाकुमारी भण्डारीलाई निर्वाचित गरेको थियो ।