किन समातियो गोल्छालाई ?

वैशाख १०, २०८३ |शिखा श्रेष्ठ
किन समातियो गोल्छालाई ?

काठमाडौँ । व्यवसायी शेखर गोल्छा पक्राउ पर्नुभएको छ । गोल्छालाई नक्साल क्षेत्रबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख मनोज केसीले बताउनुभयो ।

जिल्ला अदालत काठमाडौँको पक्राउ पुर्जीपछि अनुसन्धानका लागि गोल्छालाई नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहनुभएका गोल्छा सेयर कारोबारसम्बन्धी विवादमा पक्राउ पर्नुभएको हो । विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललगायत समूहको मिलेमतोमा भएको सेयर कारोबारको विषयमा धितोपत्र बोर्डले जाँचबुझ सुपरिवेक्षण प्रतिवेदन तयार पारेको थियो । जसमा गोल्छासहितका ६ जनाको मिलेमतो भएको आशंका गरिएको छ । प्रतिवेदनमा गोल्छालाई कसुर गर्न सहयोग गर्ने व्यक्तिको सूचीमा राखिएको छ । सोही प्रतिवेदनका आधारमा उहाँलाई पक्राउ गरिएको हो ।

सीआईबीले धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ९४, ९५ र ९६ को उपदफा १ र दफा ९८ बमोजिम कसुरमा सोही ऐनको दफा १०३ को उपदफा ३ बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन २०८३ को सिफारिस बमोजिम पक्राउ गरिएको उल्लेख गरेको छ ।

धितोपत्र ऐन २०६३ को दफा ९४ मा झूठो कारोबार, दफा ९५ मा मूल्यमा उतारचढाव र दफा ९६ मा धितोपत्र बजारलाई प्रभावित पारेमा र दफा ९८ मा जालसाजीयुक्त कारोबारसम्बन्धी कसुर हुने उल्लेख छ । यस्तो कारोबार कसैले गरेमा सोही ऐनको १०३ मा सजायको व्यवस्था गरिएको छ, जसमा प्रारम्भिक जाँचवुझ गर्दा प्राप्त कागज तथा प्रमाणबाट कसुर गरेको देखिएमा अनुसन्धान गर्न उजुरी, संकलित विवरण तथा प्रमाण मिसिल कागजात ३० दिनभित्र प्रहरी प्रधान कार्यालयमा पठाउनु पर्ने कानुनी व्यवस्था छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधपछि धितोपत्र बोर्डले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धान शुरु गरिएपछि हिमालयन रिइन्स्योरेन्सका अध्यक्ष गोल्छाले केही साताअघि पदबाट राजीनामा दिनुभएको थियो ।

गोल्छा र हिमालयन रिइन्स्योरेन्स कम्पनीबाट आएको रकमबाट भृकुटी स्टक ब्रोकिङ कम्पनीले व्यवसायी दीपक भट्टलगायतको नाममा सेयर किनेको अनुसन्धानले देखाएको छ । ब्रोकरले गोल्छालाई ५२ करोड ५० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । दीपक भट्ट र सुलभ अग्रवाल पनि अहिले सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानका लागि थुनामा छन् ।


Image

शिखा श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनकाे सुरक्षा ब्युराेमा कार्यरत छिन् ।