प्रहरी प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई नामसारी गर्ने निर्णय उल्ट्याइयो

वैशाख १०, २०८३ |कान्तिपुर टीभी संवाददाता
प्रहरी प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई नामसारी गर्ने निर्णय उल्ट्याइयो

काठमाडौँ । सरकारले काठमाडौँको महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको १ सय १४ रोपनी ३ आना जग्गा राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने तत्कालीन सरकारको निर्णय उलट्याउँदै सो जग्गा पूर्ववत् रूपमा राष्ट्रिय प्रहरी प्रशिक्षण केन्द्रकै प्रयोगमा रहने निर्णय गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको २०७५ भदौ १ को मन्त्रिपरिषद् बैठकले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको १ सय १४ रोपनी ३ आना जग्गा राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने निर्णय गरेको थियो । 

मन्त्री पोखरेलका अनुसार बैठकले खानेपानी तथा ढल व्यवस्थापन परियोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १ सय १५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋणसम्बन्धी वित्तीय सम्झौता अन्तिम रूप दिन अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय समेत गरेको छ ।

यस्तै सरकारी निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा सूचना प्रविधि प्रणालीको अवस्था अध्ययन गर्न सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने निर्णय समेत बैठकले मन्त्री पोखरेलले जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.