विपद् व्यवस्थापनका लागि सरकारसँग स्रोतसाधन अभाव छ : प्राधिकरण

वैशाख १०, २०८३ |कान्तिपुर टीभी संवाददाता
विपद् व्यवस्थापनका लागि सरकारसँग स्रोतसाधन अभाव छ : प्राधिकरण

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरकारसँग विपद् व्यवस्थापनका लागि स्रोत तथा साधनको अभाव रहेको बताएको छ । प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले बिहीबार बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सो कुराको जानकारी गराउनुभएको हो ।

भट्टले त्यस्ता खालको अभाव हुन नदिनका लागि आफूहरूले निजी क्षेत्रसँगको सहकार्यमा जोड दिनुपरेको समेत स्पष्ट पार्नुभयो । मनसुनजन्य विपद् व्यवस्थापनका लागि हवाई उद्धारका लागि आवश्यक पर्ने हेलिकोप्टर, डुंगा, ड्रोन लगायतका व्यवस्थापन गर्नका लागि निजी क्षेत्रसँग सहकार्य गर्नुपरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी प्रमुख भट्टले गत वर्षमा जस्तै यस वर्ष पनि विपद् व्यवस्थापनका लागि अभाव भएका स्रोत र साधनको थप व्यवस्थापनका लागि निजी क्षेत्रसँगको सहकार्यमा जोड दिइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीसँग सामग्रीको अभाव छ । त्यसो भएपछि हामीले ड्रोनको सन्दर्भमा यसको एसोसिएसनहरू दुई वटा रहेछ नेपालमा । उहाँहरू दुवैसँग सम्झौता गरेका थियौँ । हामीलाई परेको बेला उहाँहरुले ड्रोन उपलब्ध गराउने । ड्रोन र पाईलटलाई सम्बन्धित ठाउँमा पुर्‍याउने र उहाँहरूको खाना र बस्ने व्यवस्थापन प्राधिकरणले गर्ने भन्ने थियो । त्यसैगरी हेलिका सम्बन्धमा गत वर्ष थियो । त्यो अहिलेसम्म जारी छ । काठमाडौँ उपत्यकाभित्र हेलि उद्धार उहाँहरूले फ्रि गरिदिने निजीले पनि । अनि काठमाडौँ बाहिर न्यूनतम लागतमा गरिदिने भन्ने हिसाब थियो । त्यसैगरी डुंगाहरू पनि अभाव छ । त्यही भएर र्‍याफ्टिङ एसोसिएसनसँग पनि हामीले सम्झौता गरेका थियौँ । यो वर्ष पनि हामी निजी क्षेत्रसँग केमा अरू थप सहकार्य गर्न सकिन्छ भनेर हेरिरहेका छौँ ।”

प्राधिकरणले विपद् व्यवस्थापनको कामलाई प्रभावकारी बनाउनका लागि स्थानीय तहलाई ढल तथा खोलानाला अवरुद्ध नहुने गरी सफाईको काम गर्न पनि पत्रचार गरिएको जनाएको छ । विपद् व्यवस्थापनको काम स्थानीय सरकारले प्रभावकारी ढंगले सम्पन्न गर्न सक्ने भएकाले सोही अनुसारको तयारी भइरहेको प्राधिकरणका कार्यकारी प्रमुख भट्टले बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.