
काठमाडौं । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवालमाथि थप अनुसन्धान गर्न अदालतले सात दिनको म्याद थपको अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले सात दिनको म्याद थपको अनुमति दिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बुधबार ३० दिनको समय मागेर म्याद थपका लागि दुवै जनालाई अदालतमा उपस्थित गराएको थियो ।
तर, अदालत भने सात दिनको मात्रै म्याद दिएको छ । यसअघि सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागले नेपाल प्रहरीको केन्द्रीय अन्सन्धान ब्युरो (सीआईबी)को समन्वयमा व्यवसायी भट्टलाई चैत १९ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।
त्यसपछि चैत २२ गते शंकर ग्रुपका सञ्चालक अग्रवाल पनि पक्राउ परेका थिए । दुवै जनालाई एउटै कसुरमा अनुसन्धान भइरहेको छ ।