काठमाडौं । मिथिला क्षेत्रमा बुधबार हर्षोल्लासपूर्वक जुडशीतल पर्व मनाइँदैछ ।
सूर्यको कडा तापबाट मानिस र पर्यावरणलाई रक्षा गर्न हिलो र पानी छ्यापेर जनकपुरधामलगायतका क्षेत्रमा जुडशीतल पर्व मनाउन लागिएको हो । जुडशीतलमा मान्यजनले आफूभन्दा सानालाई टाउकोमा पानी छयापेर दीर्घायु र सुस्वास्थ्यको आशीर्वाद दिने चलन छ ।
यसरी पानी छयाप्नाले शीतलता प्राप्त हुने भएकाले मैथिली भाषामा यो पर्व जुडशीतलको नामले प्रसिद्ध छ । होली पर्वमा रङ अबीर खेलिएजस्तै हिलो दलेर यो पर्व मनाउने चलन छ । एकले अर्काको जिउमा गिलो माटो दल्ने गरिएको र यसरी शरीरमा माटो दल्नाले स्वास्थ्य लाभ हुने र छालाको रोगहरू नलाग्ने जनविश्वास छ ।
पर्यावरण संरक्षणको दृष्टिकोणले पनि महत्वपूर्ण रहेको यस पर्वमा बोटबिरुवाको जरामा पानी दिने, पोखरीको किनारा र इनारको सरसफाइ गर्ने परम्परा रहिआएको छ । जुडशीतलमा बरि, भात, सजिवनको तरकारी, आँपको चटनी, विभिन्न प्रकारका तरुवा, दहीलगायतका परिकार खाने चलन छ ।