
काठमाडौं । काठमाडौं उपत्यकामा यात्रा गर्दा अब न्यूनतम भाडा २४ रूपैयाँ तिर्नुपर्छ । जबकी यसअघि १९ रुपैयाँ थियो ।
बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडादरमा वृद्धि गरेसँगै पुन: दूरीका आधारमा भाडा समायोजन भएको छ । यसअघि २०८० भदौमा भाडा समायोजन गरिएको थियो ।
अब भने ५ किलोमिटरसम्म यात्रा गर्दा २४ रुपैयाँ, १० किलोमिटरसम्म ३३ रुपैयाँ, १५ किलोमिटरसम्म ३९ रुपैयाँ, २० किलोमिटरसम्म ४४ रुपैयाँ र २० किलोमिटरभन्दा माथि ५० रुपैयाँ तिर्नुपर्ने भएको छ । ट्याक्सीको हकमा भने मिटर चालु हुनसाथ ५८ रुपैयाँ तिर्नुपर्ने भएको छ भने प्रति दुईसय मिटरको १२ रुपौयाँ तिर्नुपर्ने भएको छ ।
रात्रिकालीन ट्यक्सी सेवाको हकमा भने प्रति दुईसय मिटर १७ रुपौयाँ तिर्नुपर्ने छ । प्रदेशभित्रका अन्य जिल्लामा भने १७ दशमलव ३-५ प्रतिशत भाडा वृद्धि गरिएको छ । अब काठमाडौंको नयाँ बसपार्कदेखि धुलिखेल, खुर्कोट, मन्थली, तामाकोशी हुँदै दोलखाको जिरी पुगेको १२ सय १८ रुपैँया तिर्नुपर्ने छ ।
यसअघि २ सय २० किलोमिटरको यो रुटमा यात्रा गर्दा मात्र एक हजार ३८ रुपौयाँ भाडा लाग्थ्यो । मालबाहक सवारी साधनको भने प्रति किलोमिटर प्रतिटन १४ रुपैयाँ ८० पैसाबाट बढेर १८ रुपैयाँ ७६ पैसा पुगेको छ । विद्युतीय माध्यमबाट सञ्चालन हुने यात्रुवाहक सवारी साधनको हकमा भने २०७९ वैशाख १ गतेदेखि लागू गरिएको पुरानै भाडादर कायम रहेको छ ।