विजया घर कब्जा प्रकरण : अदालतको आदेशपछि पनि प्रेरणाको नियन्त्रण कायमै

ट्रस्टकै ढिलासुस्तीमा ६ वर्ष बित्यो
चैत्र २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
विजया घर कब्जा प्रकरण : अदालतको आदेशपछि पनि प्रेरणाको नियन्त्रण कायमै

काठमाडौं । काठमाडौं छाउनीस्थित विजया घर कब्जा प्रकरणमा प्रेरणाले सर्वोच्चमा दायर गरेको रिट निवेदन ०७३ पुस २१ मा सर्वोच्चको पूर्ण इजलासले खारेज नै गरिदिएपछि प्रेरणाको सरकारी जग्गा हत्याउने सबै बाटोहरू बन्द भएको थियो। तर, उहाँले कब्जा गर्न भने छाड्नु भएन । 

त्यो सम्पति दोस्रोपटक पुन: नेपाल ट्रस्टको नाममा दर्ता भयो तर पूर्ण स्वामित्व अझै प्राप्त भइसकेको छैन। जग्गा खाली गराउनको साटो ट्रस्टले प्रेरणासँग पत्राचारमै दोहोरी खेलिरहेको छ। प्रेरणालाई सामान सार्न र जग्गा छाड्नको लागि ट्रस्टले कतिपटक समयावधि थप्यो? 

हरेक पटक समय थपका लागि निवेदन दिँदा प्रेरणाले कस्तो कस्तो बहाना देखाउनुभयो ? कसको पालामा कति समयावधि लम्ब्याइयो ? 

सर्वोच्च अदालतबाट विजया घरसहितको १५ रोपनी जग्गा सरकारकै ठहर भएपछि पनि प्रेरणाले जग्गा खाली नगरेपछि नेपाल ट्रस्टले पहिलोपटक २०७६ माघ ३ गते पत्रिकामा ३५ दिने सूचना प्रकाशन गरेको थियो। उक्त मितिले नेटो काटेलगत्तै सुरु हुन्छ द्वीपक्षीय चिठ्ठीपत्र दोहोरीको श्रृंखला ।

कान्तिपुर टेलिभिजनलाई प्राप्त प्रमाण केलाउँदा ०७६ फागुन ५ मा प्रेरणाले ट्रस्टका तत्कालीन अध्यक्ष उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका ईश्वर पोखरेललाई सम्बोधन गर्दै चिठ्ठी लेख्नुभयो। जसमा उक्त सम्पतिमा आफ्नो कुनै दाबी नरहेको र घर खाली गर्न केही समय लाग्ने ब्यहोरासहित केही समय थप गरिदिन आग्रह गर्नुभएको थियो। 

चिठ्ठीमा घर जग्गा खोजेर सामान सार्नको लागि केही समय लाग्ने र आफ्नो अवस्था बुझिदिनुपर्ने उल्लेख थियो। ०७६ चैत ४ मा पोखरेलको अध्यक्षतामा बसेको ५४औं बैठकले ६ महिना उपभोग गर्न दिने निर्णय भयो। उक्त समयावधि सकिँदा नसकिँदै ०७७ साउन १८ गते एकवर्ष थप गरिदिन आग्रहसहित ट्रस्टमा दोस्रोपटक प्रेरणाको निवेदन पर्यो। 

यसपटक भने ट्रस्टले समय नथप्ने निर्णयसहित २०७७ असोज ४ मा २१ दिनभित्र खाली गरिदिन पत्राचार गर्यो। उक्त पत्र हात परेलगत्तै प्रेरणाले जवाफी पत्र पठाउनुभयो। जसमा उल्लेख थियो- “कोभिडको फैलावटका कारण बसोबास सर्नका लागि असम्भव भएकोले निर्णयमा पुनर्विचार गरियोस् ।” त्यसअघि दिइएको ६ महिना पनि बन्दाबन्दीका कारण शुन्य समय मान्नुपर्ने दाबी उहाँको थियो। 

उहाँले आफूले स्वास्थ्य उपचार पनि गरिरहेको उल्लेख गर्दै माग बमोजिमको समय थप गरिपाउन तोक लगाइदिन आग्रह गर्नुभएको थियो। ०७७ भदौ ३ गतेको बैठकबाट ट्रस्ट अध्यक्ष पोखरेलद्वारा तेस्रोपटक पुन: ६ महिना थपियो। त्यसपछि ०७७ पुस ७ गते चौथोपटक ६ महिना थप भयो।

पाँचौंपटक प्रेरणाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै पत्र पठाउनुभएको थियो। २०७८ जेठ २५ गते प्रेरणाले लेखेको पत्रमा उहाँका ससूराबुबाको ०७७ मंसिर १४ मा निधन भएको र भवन निर्माणको लागि एक वर्ष लाग्ने बताइएको थियो। ओलीले पत्रमा तोक आदेश दिदै ट्रस्टको कार्यालयलाई भनेबमोजिम गरिदिनु भन्ने निर्देशन दिनुभएको देखिन्छ। 

प्रधानमन्त्रीकै तोक आदेश भएपछि ट्रस्टका तत्कालीन अध्यक्ष वसन्तकुमार नेम्वाङले ०७८ असार २४ मा १ वर्ष निसंकोच थपिदिए।  अर्को एक वर्ष बित्यो, घरजग्गा खाली भएन। प्रेरणाले फेरि अर्को पनि पत्र लेख्नुभयो ०७९ असार २९ मा। घर निर्माण गर्ने तयारी हुँदै गर्दा नेपालजस्तो विकासशील देशमा आर्थिक मन्दी भएकोले निर्माण कार्यलयलाई निरन्तरता दिन नसक्ने बताउँदै छैटौंपटक अर्को एक वर्ष थप माग गर्नुभयो। र, मागेबमोजिम नै थपियो। 

त्यसपछि पनि ०८१ भदौ २८ एक वर्ष नै समयावधि लम्बाइएको कागजातले देखाउँछ। ०८२ असार ९ गते तीन दिनभित्र खाली गर्न पत्र पठाइएको ट्रस्टको कार्यालयले जनाएको छ। असार १८ गते गृह मन्त्रालयमा पनि पत्राचार गरेको भए पनि प्रहरी आउने जाने मात्रै गरेको देखिन्छ।

सम्बन्धित समाचार-

नेपाल ट्रस्टको १५ रोपनी जग्गा डेढ दशकदेखि पूर्व अधिराजकुमारी प्रेरणाको कब्जामा

-शिखा श्रेष्ठको रिपोर्ट


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.