
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशमा नेपालले आफ्नो राष्ट्रिय हितलाई केन्द्रमा राखी सन्तुलित कूटनीतिक सम्बन्ध अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।
संघीय संसद्का संयुक्त सदनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेपालको भौगोलिक संवेदनशीलता र विश्व राजनीतिको प्रभावलाई मध्यनजर गर्दै सरकारले विश्वसनीय र सन्तुलित कूटनीति अवलम्बन गर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले विश्वमा देखिएका द्वन्द्व र अस्थिरताप्रति संकेत गर्दै छिमेकी तथा मित्र राष्ट्रहरूसँगको सम्बन्ध पारस्परिक सम्मान र सहयोगमा आधारित हुनुपर्ने बताउनु भयो ।
जलवायु परिवर्तनको मुद्दालाई प्रमुखताका साथ उठाउनुपर्ने उहाँको भनाइ छ । राष्ट्रपतिले भन्नुभयो, ‘जलवायु परिवर्तनले हामीलाई पारेको नकारात्मक प्रभावको असर न्यूनीकरण गर्न ’जलवायु न्याय’ का लागि सरकारले विश्व समुदायसँग उचित पहल गर्नेछ ।’
नेपालले भोग्नुपरेको वातावरणीय संकटको क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा बलियो उपस्थिति जनाउनुपर्नेमा उहाँको जोड छ ।