
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधान कार्यान्वयनको १० वर्षको अभ्यास महत्वपूर्ण रहेको बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्रका आधारस्तम्भहरू संस्थागत हुँदै गएको बताउनुभएको छ ।
यद्यपि, संविधानको मर्म र जनताको चाहना बमोजिम अझै धेरै काम गर्न बाँकी रहेको उहाँले स्वीकार गर्नुभएको हो । उहाँले लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई आत्मसाथ गर्दै विकास र समृद्धिको यात्रामा सबै राजनीतिक दल र राज्य संयन्त्रलाई एकजुट हुन आह्वान गर्नुभयो ।
उहाँले राष्ट्रिय एकताको आवश्यकतामा जोड दिनुभयो । समृद्धिको साझा लक्ष्य हासिल गर्न विगतका गल्तीहरूबाट सिक्दै अगाडि बढ्नुपर्ने र निराश जनशक्तिबाट मुलुकको उन्नति सम्भव नहुने भएकाले आशा जगाउने काम गर्न सरकारलाई उहाँले सुझाव दिनुभयो ।
राष्ट्रपति पौडेलले भन्नुभयो, ‘हामी फुटेर होइन जुटेर, विगतका कटुता कोट्याएर होइन त्यसबाट पाठ सिक्दै एकताबद्ध भई अघि बढ्नु पर्ने खाँचो छ ।’ सार्वभौम संसद्ले जनताको स्वतन्त्रता, सामाजिक न्याय र सुशासनको चाहनालाई पूरा गर्ने विश्वास उहाँको छ ।