
धादिङ । दुई पुस्तादेखि ओडारमा बाँचिरहेका धादिङको बनिघाट रोराङका इस्तराम प्रजाको परिवारले बुधबार आफ्नै घर पाएको छ ।
नेपाली सेनाको अगुवाइमा बनेको घर बुधबार इस्तराम परिवारलाई हस्तान्तरण भएको हो । कान्तिपुर टेलिभिजनमा यही चैत ९ गते दुई पुस्तादेखि ओडारमा बाँचिरहेका इस्तरामको परिवारको समाचार प्रसारण भएको थियो ।
बेनीघाट रोराङ गाउँपालिका ९ मैवाङको ओडारमा बस्दै आएको इस्तराम परिवार बुधबार आफ्नै घरमा सरेको छ । यो परिवारलाई घर बनाउन काठमाडौंका तुलसी श्रेष्ठले दुई रोपनी जग्गा उपलब्ध गराइदिनुभएको हो। नेपाली सेनाको भैरव गणको २० जनाको जनशक्तिले घर निर्माणमा चाँडै घर बनेको हो ।
घर निर्माणमा विभिन्न संघ संस्थाले सहयोग गरेका छन् । नागरिकतासमेत नभएकाले इस्तराम र उहाँकी श्रीमति सरकारले दिने सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित हुनुहुनुभएको थियो । तर, कान्तिपुर टेलिभिजनबाट समाचार प्रसारण भएपछि जिल्ला प्रशासन कार्यालय धादिङले सम्पूर्ण प्रक्रिया पूरा गरी इस्तराम र उहाँकी श्रीमतीलाई गत शनिबार उहाँहरू बस्ने ओडारमै पुगेर नागरिकता प्रदान गरेको थियो ।
नेपालको संविधान धारा ३७ ले सबै नागरिकलाई आवासको अधिकार दिएको दिए पनि इस्तरामको परिवारले ढुङ्गामुनि जीवनयापन गरिरहेको थियो ।