
काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरूले मूल्यवृद्धि नियन्त्रण र रासायनिक मल समयमा नै व्यवस्थापन गर्न सरकारको ध्यानकर्षण गराएका छन् ।
राष्ट्रिय सभाको बुधबार बसेको बैठकको शून्य समयमा उहाँहरूले उपभोक्ताहरूको माग सम्बोधन गर्न सरकारको ध्यानार्कषण गराउनुभएको हो । राष्ट्रिय सभा सदस्य गीता देवकोटाले पश्चिम एसियामा देखिएको द्वन्द्वका कारण मुलुकमा बढ्दो मूल्यवृद्धिले आम जनताको जीवनयापन अत्यन्तै कष्टकर बन्दै गएको बताउनु भयो ।
उहाँले मूल्यवृद्धि नियन्त्रण गर्न सरकासँग माग गर्नुभयो । उहाँले किसानलाई प्रोत्साहन गर्ने स्पष्ट नीति अवलम्बन गर्न पनि सरकारसँग माग गर्नुभयो । नेपालमा तरकारी, खाद्यान्न, फलफूल, मह तथा माछामासु उत्पादन गर्ने किसानलाई दीर्घकालीन रूपमा व्यवसायिक बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।
आगामी बजेटमार्फत सरकारले अल्पकालीन तथा दीर्घकालीन ठोस कार्यक्रम ल्याई उत्पादन, भण्डारण, ढुवानी र बजार व्यवस्थापनलाई सुदृढ गर्नुपर्ने उहाँले बताउनु भयो । राष्ट्रिय सभा सदस्य रेखाकुमारी झाले प्रत्येक वर्षझैं यसवर्ष पनि रासायनिक मलको अभाव हुने जोखिम रहेको औंल्याउनु भयो ।
हाल अमेरिका, इजरायल र इरानबीचको युद्धले आपूर्ति थप प्रभावित हुन सक्ने उहाँको भनाइ छ । सरकारले समयमै आवश्यक पर्ने मलको व्यवस्था गर्न गम्भीरता देखाउनुपर्ने उहाँको भनाइ छ । उहाँले देशका विभिन्न क्षेत्रमा वन्यजन्तुले बाली नष्ट गर्दा किसानको जीविकोपार्जनमा ठूलो असर परेको उल्लेख गर्दै तत्काल समस्या समाधान गरी पीडित किसानलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो ।