
कपिलवस्तु । लुम्बिनी प्रदेशमा राष्ट्रिय निकुञ्ज रहेका बाँके र बर्दियाबाहेकका अरू ६ जिल्लामा पनि बाघ फेला परेको छ ।
निकुञ्ज र संरक्षित क्षेत्रमा बाघ गणना जारी रहँदा गैरसंरक्षित क्षेत्रमा पनि उल्लेख्य संख्यामा बाघ अभिलेख हुनु सकारात्मक मानिएको छ । यसले पर्यापर्यटनको विविधतामा आकर्षण थपिरहँदा मानव र बाघ द्वन्द्व न्यूनीकरणमा भने चुनौती थपिएको छ ।
अध्ययनले तराईका रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा पाटेबाघ अभिलेख भएको छ । त्यस्तै दाङको तराई र पहाडी भूभाग, पाल्पा र अर्घाखाँचीको पहाडी क्षेत्रमा समेत बाघ देखिएको छ । प्रदेशका १२ मध्ये बाँके-बर्दियाबाहेक ६ जिल्लामा क्यामेरा ट्रयापमा पाटेबाघ परेको हो ।
गुल्मी र प्यूठानमा पनि अध्ययन जारी छ भने पूर्वी रूकुम र रोल्पामा ३ सातापछि अध्ययन थालिने छ । त्रिभुवन विश्वविद्यालय, प्राणीशास्त्र केन्द्रीय विभाग काठमाडौंले लुम्बिनी प्रदेशमा वन्यजन्तु, उभयचर र सरिसृपको अवस्था पत्ता लगाउन अध्ययन गरिरहेको हो ।
अध्ययनले मानव वन्यजन्तु सहअस्तित्व कायम गर्न चाहिने आधारभूत तथ्याकहरू संकलन गर्न पनि सहयोग गर्ने अपेक्षा छ । क्यामरा ट्रयापमा सबैभन्दा बढी कपिलवस्तु र दाङमा चार/चारवटा बाघ परेका छन् । कपिलवस्तुमा तिलौराकोट साझेदारी वन, गोरुसिंगे र खारखानी वनमा बाघ भेटिएका हुन् ।
दाङमा पनि पूर्वपश्चिम राजमार्ग आसपास अमेलिया, सतबरिया र अर्जुनखोलालगायतका क्षेत्रमा चारवटा बाघ क्यामरा ट्रयापमा परेका छन् । पश्चिम नवलपरासीको बाबा गोरिया सामुदायिक वनमा दुई र रूपन्देहीको वनबाटिका पार्क गणेशनगर छेउमा रहेको गौशाला आसपास एउटा बाघ अभिलेख भएको छ ।
पाल्पाको माथागढी र तिनाउ गाउँपालिकामा दुईवटा बाघ भेटिएका छन् भने अर्घाखाचीको शीतगंगा नगरपालिका रजिया नजिकै एउटा बाघ अभिलेख भएको छ । सबै ठाउँमा बयस्क बाघ देखिएका छन् । ६ जिल्लाको दुई हजार दुई सय वर्ग किलोमिटरमा ३ सय २३ वटा क्यामरा राखिएको थियो ।
२५ वर्ग किलोमिटरमा ४ वटाका दरले २१ दिनसम्म क्यामरा राखिएको थियो । वन्यजन्तु आउआउ गर्ने सम्भाव्य बाटो, नदी खोला किनार, दोबाटो फायरलाइनमा क्यामेरा राखिएको थियो । क्यामेरामा बाघबाहेक चितुवा, नीरबिरालो, चरिबाघ, जरायो, हुँडार, चित्तल, काठेभालुलगायतका जनावर पनि परेका छन् ।
त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र केन्द्रीय विभागको अगुवाइमा २० सदस्यीय टोलीले दुई वर्षदेखि अध्ययन गरिरहेको छ । सन् २०२२ को गणनाअनुसार नेपालमा ३ सय ५५ वटा पाटेबाघ छन् । गैरसंरक्षित क्षेत्रमा पनि अभिलेख हुनुले बाघको संख्या अझ बढने देखिन्छ । तर, पछिल्लो समय मानव-बाघ द्वन्द्व बढ्दा समुदायमा त्रास बढेको छ ।
मानव वन्यजन्तु सहअस्तित्व कामय गरेर बाँच्ने वातावरण मिलाउन सबै पक्ष लागेर स्थानीयलाई आयआर्जनदेखि पर्यापर्यटनबाट पनि राम्रो फाइदा पुर्याउनेतिर लाग्नुपर्ने देखिन्छ ।