ओडारमा बाँचिरहेका इस्तरामको परिवारले आज आफ्नै घर पाउँदै

चैत्र २५, २०८२ |पोषनाथ अधिकारी
ओडारमा बाँचिरहेका इस्तरामको परिवारले आज आफ्नै घर पाउँदै

धादिङ । दुई पुस्तादेखि ओडारमा बाँचिरहेका धादिङको बनिघाट रोराङका इस्तराम प्रजाको परिवारले बुधबार आफ्नै घर पाउँदैछ ।

नेपाली सेनाको अगुवाइमा बनेको घर बुधबार इस्तराम परिवारलाई हस्तान्तरण हुने भएको हो । कान्तिपुर टेलिभिजनमा यही चैत ९ गते २ पुस्तादेखि ओडारमा बाँचिरहेका इस्तरामको परिवारको समाचार प्रसारण भएको थियो । बेनीघाट रोराङ गाउँपालिका ९ मैवाङको ओडारमा बस्दै आएको इस्तराम परिवार बुधबारदेखि आफ्नै घरमा सर्ने भएको छ । 

यो परिवारलाई घर बनाउन काठमाडौंका तुलसी श्रेष्ठले दुई रोपनी जग्गा उपलब्ध गराइदिनुभएको हो । नागरिकतासमेत नभएकाले इस्तराम र उहाँकी श्रीमती सरकारले दिने सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित हुनुभएको थियो । तर, कान्तिपुर टेलिभिजनबाट यो समाचार प्रसारण भएपछि जिल्ला प्रशासन कार्यालय धादिङले सम्पूर्ण प्रक्रिया पूरा गरी इस्तराम र उहाँकी श्रीमतीलाई गत शनिबार नागरिकता प्रदान गरेको छ ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।