जिल्ला र स्थानीय तहका विपद् व्यवस्थापन समिति बेकामे

विपद्पछि अग्रमोर्चामा खटिने सशस्त्र प्रहरी नै स्रोतसाधनविहीन
चैत्र २४, २०८२ |विनोद घिमिरे
जिल्ला र स्थानीय तहका विपद् व्यवस्थापन समिति बेकामे

धनकुटा । संघीय सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई विपद् प्रतिकार्यका लागि आवश्यक जनशक्ति एवं उपकरण तयारी हालतमा राख्न निर्देशन दिइरहेका बेला जिल्ला र स्थानीय तहमा रहेका विपद् व्यवस्थापन समितिहरू भने स्रोतसाधनको अभावमा कामै गर्न नसक्ने अवस्थमा छन् ।

चैत पहिलो साता आएको हावाहुरीका कारण कोशी राजमार्गको धनकुटा हिले खण्ड सयौं रूख ढलेर सडक अवरूद्ध भयो । ठूलो संख्यामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको परिचालन भए पनि रूख काट्ने आरासमेत नहुँदा करिब १४ घण्टासम्म राजमार्ग अवरूद्ध बन्यो । 

धनकुटामा बाढी र डुबानका घटनामा परेका व्यक्तिको उद्धार गर्नुपरे सशस्त्र प्रहरीसँग गतिलो लाइफज्याकेट छैन । विपद्का बेला राहत र मानवीय उद्धारमा खटिनु पर्ने रेडक्रससँग १० जना प्रभावित व्यक्तिलाई दिने आपतकालीन सहयोग समेत छैन । तत्कालीन राहत उपलब्ध गराउनुपर्दा चाहिने प्रमुख जिल्ला अधिकारी संयोजकत्वको विपद् व्यवस्थापन कोष नै खाली छ ।

केन्द्रबाट गृहमन्त्री सुधन गुरूङको निर्देशनलगत्तै धनकुटामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठक स्रोतसाधन अभावका कारण तत्कालीन राहत, उद्धारलगायत विपद् प्रतिकार्यमा स्रोतसाधन अभावको छलफलमै केन्द्रित भयो । बैठकले विपतको पूर्वतयारी होइन स्रोतसाधन अभावकै कारण जिल्ला र स्थानीय तहमा गठित विपद् व्यवस्थापन समिति निष्प्रभावी बनेको निष्कर्षसहित टुंगियो ।

केन्द्रबाट सरकारले विपद् पूर्वतयारी सुदृढ बनाउन निर्देशन दिए पनि जिल्लाको यथार्थ भने फरक छ । स्थानीयस्तरमा स्रोतसाधन अभावले कुनै निर्देशन कार्यान्वयन हुने अवस्था नै छैन ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।