
बर्दिया । बर्दियामा दुर्लभ वन्यजन्तु कृष्णसार संकटमा परेकाे छ।
संरक्षणका लागि छुट्याइएको क्षेत्रमै सुरक्षा कमजोरी देखिँदा चालु आर्थिक वर्षमै ५० वटा कृष्णसार मरेका छन् । कृष्णसार संरक्षणमै चुनौती थपिँदै जाँदा सरोकारवालाहरू चिन्तित बनेका छन् । बर्दियास्थित कृष्णसार संरक्षण क्षेत्रमा साउनयता ५० वटा कृष्णसार मरेका छन्।
कार्यालयकाअनुसार चितुवा, छाडा कुकुर, हुँडार र स्यालको आक्रमणमा परेर कृष्णसार मर्ने क्रम बढ्दो छ। गत साउनदेखि चैत तेस्रो सातासम्म वयस्क र बच्चासहित ५० वटा कृष्णसार शिकारी जनावरको शिकार बनेका छन्। हाल संरक्षण क्षेत्रमा करिब २ सय ४० वटा कृष्णसार रहेका छन्।
वन्यजन्तु ऐन २०२९ अनुसार दुर्लभ प्रजातिमा सूचीकृत कृष्णसारको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ। संरक्षणका लागि लगाइएको तारबार जीर्ण हुँदा शिकारी जनावरहरू सहजै भित्र पसेर कृष्णसार मार्ने गरेका छन्। कार्यालयका अनुसार सीमित बजेटका कारण समयमै मर्मतसम्भार हुन सकेको छैन।
यसले संरक्षण व्यवस्थामै ठूलो असर पारेको छ। सरकारले २०६५ साल चैत ३ गते बर्दियाको खैरिफाँटालाई कृष्णसार संरक्षण क्षेत्र घोषणा गरेको थियो। करिब ७ सय ८ बिघा क्षेत्रफलमा फैलिएको छ। २०२० सालमा यहाँ ९ वटा कृष्णसार चरिचरण गर्थे। बढ्दै गएर कृष्णसार ०५६ सालमा ३ सय ५० वटासम्म पुगेका थिए।
प्रशस्त घाँसे मैदान र पानी उपलब्ध भएको उपयुक्त ठाउँ छानेर कृष्णसार संरक्षण क्षेत्र बनाइएको थियो। यस क्षेत्रमा २०६६ सालमा १० किलोमिटरभन्दा बढी क्षेत्रमा तारबार लगाइएको थियो। तर, मर्मतसम्भार अभावमा मेस वायर तारजाली जीर्ण बन्दै गएको छ। कमजोर तारबारकै कारण चितुवा, छाडा कुकुर, हुँडार र स्याल संरक्षण क्षेत्रभित्र पस्दै आएका छन्।
समयमै मर्मत र बलियो संरचना निर्माण नगरे कृष्णसारको अस्तित्व नै संकटमा पर्न सक्ने देखिन्छ। सरोकारवालाहरू बलियो र स्थायी तारबार निर्माण नगरेसम्म कृष्णसार संरक्षण सम्भव नहुने बताउँछन्। दुर्लभ वन्यजन्तु जोगाउन सरकारले तत्कालै कदम चाल्नुपर्ने देखिएको छ।