प्यूठान । शनिबार रातिको आगलागीले प्यूठानको ऐरावती गाउँपालिकाको छेडाघाट गाउँ नै सखाप पारेको छ ।
आगोले घर खरानी बनाएपछि पीडितहरू खुला आकासमुनि पुगेका छन् । बस्ने बाससँगै खाने नगद, गरगहना र अनाजसमेत आगोले डढाएपछि गाउँ शोकमा डुबेको छ । शनिबार राति पौने बाह्र बजेतिर ऐरावती गाउँपालिका-१ छेडाघाटका लक्ष्मण रानाको गोठमा आगो सल्कियो ।
निभाउने प्रयास गर्दागर्दै छेडाघाटका ८ घर र १४ गोठ जलेर खरानी बने, अन्नपात, लत्ताकपडासँगै घरमा भएको सर्वश्व नै गुमेपछि छेडाघाटबासीको विचल्ली भएको छ । आगलागीबाट ९५ लाख ५० हजार रूपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख छ ।
आगलागीबाट मानवीय क्षति नभए पनि १०८ वटा बाख्रा, ६ वटा गोरू तथा अन्य पशुपन्छीको जलेर मृत्यु भएको छ । झन्डै सात घन्टापछि मात्रै नियन्त्रणमा आएको आगोले सिंगो गाउँ खण्डहर बनाएको छ । आगाले घरसँगै अन्नपात, लत्ताकपडासम्म जलाएपछि घरबारविहीन बनेका छेडाघाट बासीका लागि गाउँपालिकाले तत्कालीन राहतस्वरूप खाद्यान्न र लत्ताकपडा उपलब्ध गराएको छ ।