
काभ्रेपलाञ्चोक । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गको धुलिखेल-खावा सडक खण्डमा पिच (कालोपत्रे) तथा स्तरोन्नति कार्य तीव्र बनाउँदै १० दिनसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा चैत १९ गते बसेको सरोकारवालाहरूको बैठकले उक्त सडक खण्डमा चैत २१ गतेदेखि ३० गतेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो। निर्णयअनुसार उक्त अवधिमा अत्यावश्यक सेवाबाहेक अन्य सवारी सञ्चालनमा कडाइ गरिनेछ।
सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार लामो समयदेखि जीर्ण अवस्थामा रहेको सडक खण्डमा एकैपटक पिच, सडक चौडाइ विस्तार, ढल तथा पानी निकास व्यवस्थापनलगायतका काम प्रभावकारी रूपमा सम्पन्न गर्न सवारी आवागमन बन्द गर्नुपरेको हो।
निर्माण कार्य छोटो समयमा सम्पन्न गर्न र गुणस्तर कायम राख्न यस्तो निर्णय गरिएको जनाइएको छ। धुलिखेल–खावा सडक खण्ड धुलिखेल हुँदै पूर्वी जिल्लातर्फ जाने सवारी साधनका लागि महत्वपूर्ण मार्गका रूपमा रहेको छ। काठमाडौ| उपत्यकाबाट काभ्रे, सिन्धुपाल्चोक, दोलखालगायत जिल्लामा जाने सवारी साधन दैनिक रूपमा यही मार्ग प्रयोग गर्ने गर्दछन्। तर, पछिल्लो समय सडक जीर्ण बन्दै जाँदा खाल्डाखुल्डी, धुलो, वर्षायाममा हिलो र पानी जम्ने समस्याले यात्रु तथा चालकहरूलाई सास्ती भोग्नुपरेको थियो।
स्थानीयवासी, व्यवसायी तथा यातायात व्यवसायीहरूले लामो समयदेखि सडक स्तरोन्नतिको माग गर्दै आएका थिए। सोही मागलाई सम्बोधन गर्दै सरकारले चालु आर्थिक वर्षदेखि उक्त सडक खण्डमा स्तरोन्नति तथा पिचको काम अघि बढाएको हो।
सडक डिभिजन कार्यालयले निर्माण कार्य निर्धारित समयमै सम्पन्न गरी सडकलाई व्यवस्थित र सुरक्षित बनाउने लक्ष्य लिएको जनाएको छ। यस अवधिमा यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा यात्रा अघि आवश्यक जानकारी लिन अनुरोध गरिएको छ।