
काठमाडौँ । काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाल पक्राउ पर्नुभएको छ । बानेश्वरस्थित निवासबाट उहाँलाई मंगलबार बिहान काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको प्रहरी उपरीक्षक मनोहर भट्टले जानकारी दिनुभयो ।
भट्टका अनुसार भदौ २३ र २४ को जेन-जी आन्दोलनमा दमन गरेको आरोपमा रिजाललाई पक्राउ गरिएको हो । यही आरोपमा ज्यानसम्बन्धी कसुरमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक यसअघि शनिबार नै पक्राउ परिसक्नुभएको छ । रिजाललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाउने तयारी भइरहेको छ । अब जिल्ला अदालतबाट म्याद थप गरी उहाँमाथि अनुसन्धान प्रक्रिया अघि बढ्नेछ ।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पनि रिजालविरुद्ध मुलुकी अपराध संहिताको दफा १८२ अनुसार फौजदारी कसुरमा कारबाही सिफारिस गरेको थियो ।