जलाएर हत्या गरेको दाबी गर्दै नेपालगञ्जकी सिर्जना बुढा मगरका आफन्तले गरे न्यायको माग

चैत्र १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
जलाएर हत्या गरेको दाबी गर्दै नेपालगञ्जकी सिर्जना बुढा मगरका आफन्तले गरे न्यायको माग

बाँके । सुर्खेतकी १६ वर्षीया इनिसा विक हत्याको छानबिन चलिरहेको छ । 

परिवारले दोषीमाथि कारबाहीका लागि दबाब दिँदै इनिसाको शव पनि बुझ्न मानेका छैनन् । यता नेपालगञ्जमा पनि जलेको अवस्थामा भेटिएकी २२ वर्षीया सिर्जना बुढा मगरको मृत्यु प्रकरणमा आफन्तले निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गरेका छन्।

सोमबार जिल्ला प्रहरी कार्यालय बाँकेअगाडि प्रदर्शन गर्दै उनीहरूले निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाही माग गरेका हुन्। उनीहरूले योजनाबद्ध तरिकाले जलाएर हत्या भएको दाबी गर्दै सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्। परिवारजनले न्याय नपाएसम्म शव नबुझ्ने र आन्दोलन जारी राख्ने चेतावनीसमेत दिएका छन्।

जिल्ला प्रहरीका अनुसार घटनामा संलग्न भएको आरोप लागेका पाँचमध्ये तीन जना पक्राउ परिसकेका छन् । बाँकी आरोपीको खोजी भइरहेको प्रहरीले जनाएको छ। आइतबार राति नेपालगञ्ज उपमहानगरपालिका १२ कोरियनपुरमा जलिरहेको अवस्थामा प्रहरीले पहिचान नखुलेकीलाई फेला पारेको थियो । 

तत्कालै भेरि अस्पताल लगिएकोमा सोमबार बिहान एक बजेर २० मिनेटमा ती महिलालाई चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरी अनुसन्धानपछि मृतक महिला २२ वर्षीया सिर्जना बुढा मगर भएको खुलेको थियो । प्रहरीले यस घटनामा सिर्जनासँग सम्बन्ध रहेको भनिएका आरिफ ढपाली, उनकी आमा र दिदीलाई नियन्त्रणमा लिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.