
धनकुटा । धनकुटा नगरपालिका मुख्य थातथलो भएका सीमान्तकृत आठपहरिया राई जातिको ऐतिहासिक पृष्ठभूमि, संस्कृति र जीवनशैलीका विभिन्न पक्षको संरक्षण र प्रवर्द्धनका लागि संग्रहालय सञ्चालनको तयारी गरिएको छ ।
लोपोन्मुख भाषा, संस्कृति र परम्परालाई जोगाउँदै नयाँ पुस्तामा हस्तान्तरणको उद्देश्य राखेर संग्रहालय निर्माण गरिएको हो । धनकुटा नगरपालिकामा मात्रै बसोबास आठपहरिया समुदायको जनसंख्या करिब ६ हजार हाराहारीमा छ । सीमान्तकृत यो समुदायको संस्कार-संस्कृति, परम्परागत भेषभूषा, गहना, कृषि औजार, घरेलु सामग्री तथा जीवनचक्रसाग सम्बन्धित वस्तुहरू संरक्षण र प्रदर्शनका लागि सदरमुकामको बिहीबारे हाट छेउमा संग्रहालय निर्माण गरिएको हो ।
आधुनिक शैलीमा निर्माण गरिएको संग्रहालयमा आठपहरिया समुदायसँग सम्बन्धित श्रव्यदृष्यसमेत संकलन गरी राखिने छ । सञ्चालनमा आउन लागेको संग्रहालयमार्फत आठपहरिया समुदायको पहिचानलाई भौतिक र डिजिटलरूपमा दस्ताबेजीकरण गर्दै दीर्घकालीन रूपमा संरक्षणको उद्देश्य राखिएको छ ।
यसले भाषा, लोकगीत, नृत्य र आठपहरिया जीवनशैलीलाई भावी पुस्तामा हस्तान्तरण गर्दै समुदायको स्वाभिमान र पहिचानलाई प्रवर्द्धन गर्ने विश्वास छ । करिब ९० प्रतिशत भौतिक काम सम्पन्न भएको संग्रहालयमा क्रमश: सामग्री थप गर्दै जाने योजना छ ।
किरात आठपहरिया समाज र धनकुटा नगरपालिका संग्रहालय सञ्चालनको कार्यविधि निर्माणमा जुटेका छन् । व्यवस्थापन संरचना, अभिलेखीकरण-अनुसन्धान, प्रदर्शनी, प्रस्तुती, नगरपालिका तथा समुदायगत सहभागिता, आर्थिक व्यवस्थापन, प्रवर्द्धन, संरक्षण र सुरक्षालगायतको ढाँचामा छलफल भइरहेको छ ।
संग्रहालयको पूर्वाधार निर्माण, भित्री सजावट र सामग्री व्यवस्थापनमा अहिलेसम्म करिब तीन करोड रूपैयाँ खर्च भइसकेको छ । सञ्चालनमा आउनलागेको धनकुटाको आठपहरिया संग्रहालयले सांस्कृतिक पर्यटन प्रवर्द्धनसँगै अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा स्थापित हुने विश्वास लिइएको छ ।