
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यतिखेर आफ्नै निर्णयमाथि छानबिन सुरु गरेको छ । प्रसंग हो विदेशी विश्वविद्यालयबाट प्राप्त शैक्षिक उपाधिको समकक्षतासम्बन्धी निर्णय । विद्यार्थीहरुले विभिन्न विश्वविद्यालयबाट प्राप्त गरेका उपाधिलाई त्रिविले प्रमाणपत्रका आधारमा मान्यता दियो । जब भारतको नियामक निकाय अनुदान आयोगले ती विश्वविद्यालय नक्कली भएको भन्दै सूचना निकाल्यो, त्रिविको आँखा बल्ल खुल्यो । अहिले त्रिविले आफैंले मान्यता दिएका विदेशी विश्वविद्यालयको शैक्षिक उपाधिमाथि छानबिन थालेको छ ।
त्रिभुवन विश्वविद्यालयले विदेशी विश्वविद्यालयका शैक्षिक उपाधिलाई विद्यार्थीहरुले पेश गरेका प्रमाणपत्रका आधारमा समकक्षता दिँदै आएको थियो । त्यसका लागि सम्बन्धित शैक्षिक संस्थाको विश्वसनीयताप्रति बुझ्ने प्रयास नै गरिदैनथ्यो । तर भारतको विश्वविद्यालय अनुदान आयोगले गत फेब्रुअरीमा ३२ विश्वविद्यालय नक्कली र ५४ वटा विश्वविद्यालय तथा उच्च शैक्षिक संस्था समस्याग्रस्त ठहर गर्दै सूचना जारी गरेपछि त्रिवि आफैंले गरेका निर्णयको आफैंले छानबिन गर्ने तहमा पुगेको छ ।
त्रिवि पाठ्यक्रम विकास केन्द्रले यही वैशाख २४ गते १६ विद्यार्थीको नामसहित सार्वजनिक सूचना नै जारी गरेर आफूले प्राप्त गरेको उपाधिको वैधता पुष्टि गर्ने प्रमाणसहित उपस्थित हुन निर्देशन दियो । जबकि भारतको सीएमजे विश्वविद्यालयबाट ती विद्यार्थीहरुले लिएका उपाधिको समकक्षता त्रिवि आफैंले दिएको थियो ।
त्रिविले बैशाख १४ गते पनि भारत मणिपुरको सांगाइ इन्टनेशनल युनिभर्सिटीबाट विभिन्न तहका शैक्षिक उपाधि लिएका ९८ विद्यार्थीको समकक्षता छानविन गर्न सूचना निकालेको थियो । उक्त विश्वविद्यालयलाई भारतको विश्वविद्यालय अनुदान आयोगले २०२४ मे १५ मा विश्वविद्यालयकै सूचीबाट हटाई त्यहाँबाट जारी भएका उपाधि अवैध घोषणा गरेको थियो । भारतको विश्वविद्यालय अनुदान आयोगले अवैध र समस्याग्रस्त घोषणा गरेपछि अब दबाब त्रिविलाई पर्न आएको छ। त्रिविले अब ति शैक्षिक संस्थाको उपाधिमाथि छानविन थालेको छ। विद्यार्थीले पेश गर्ने कागजात मागिएको छ, वैध ठहर नभए समकक्षता खारेज गर्ने त्रिविले जनाएको छ ।
त्रिविले विगतमा भारत लगायतका देशहरुबाट समकक्षताका लागि पेश भएका शैक्षिक प्रमाणपत्रबारे अध्ययन नै नगरी जथाभावी रुपमा समकक्षता दिँदा अहिले फेरि छानविन गर्नुपर्ने तहमा पुगेको हो । छानविन समितिको प्रतिवेदनका आधारमा विद्यार्थीले प्राप्त गरेको उपाधिको समकक्षताबारे निर्णय हुने त्रिविले स्पष्ट पारेको छ ।
त्रिविको पाठ्यक्रम विकास केन्द्रले २०३० को दशकदेखि नै विदेशी विश्वविद्यालयबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता दिँदै आइरहेको छ । तर यसरी समकक्षता दिँदा सम्बन्धित शैक्षिक संस्थाको विश्वसनीयताप्रति गहन अध्ययन र अनुसन्धान गर्ने गरिएको छैन ।