किन सञ्चालन भएन राजविराज बसपार्क ?

चैत्र १६, २०८२ |आरएन विश्वास
किन सञ्चालन भएन राजविराज बसपार्क ?

सप्तरी । सघन सहरी आयोजना राजविराजबाट लामो समयको अन्तरालमा १५ करोड ६० लाखको लागतमा सप्तरीको राजविराजमा बसपार्क निर्माण भयो। 

निर्माण सकेर नगरपालिकाले आफ्नो स्वामित्वमा लिएर उद्घाटनसमेत गरेको पनि १० महिना भइसक्यो। तर, बसपार्क अझै सञ्चालनमा नआउँदा निर्माण भएका संरचनाहरू पनि जोखिम पर्ने अवस्था आएको छ। निर्माण भएर पनि किन सञ्चालन भएन त राजविराज बसपार्क ?

१० महिनाअघि नै निर्माण सकिएको राजविराज बसपार्क सञ्चालनमा नआउनु दुखद् भएकोले अविलम्ब सञ्चालन हुनुपर्ने माग स्थानीयले गरेका छन्। तर, संघ सरकारको प्रतिनिधित्व गर्ने जिल्ला प्रशासन र स्थानीय सरकार राजविराज नगरपालिकाले भने आफैले उद्घाटन गरेको बसपार्क सञ्चालनमा ल्याउन सकेका छैनन्। 

प्रशासनले नगरको ट्राफिक व्यवस्था सुधार्न र बसपार्क सञ्चालनका लागि आवश्यक सुरक्षाकर्मी सहयोग गर्ने भनिरहेको छ भने नगरपालिकाले तीनपटक निकालेको ७५ लाखको टेन्डर महंगो भयो भनेर कसैले नभर्दा समस्या भएर अब अमानतैबाट चाँडै बसपार्क सञ्चालनका लागि गृहकार्य गरिरहेको दाबी गरेको छ।

बसपार्कमा यातायात व्यवसायीहरूले सवारीसाधन नलग्नुको पनि कारण देखिएको छ। दक्षिणबाट बसर्पाक पुग्ने बाटोको समस्या नरहे पनि उत्तरबाट बसर्पाक पुग्ने बाटो निर्माण नहुँदा सवारीसाधन बर्सपाक लग्न नसकेको उनीहरू बताउँछन्। ठेकेदार कम्पनीले हुलाकी राजमार्गको राजविराज क्षेत्रमा अझै सडक निर्माण गरेको छैन।

व्यवसायीले देखाएको समस्या तत्कालै समाधान गरिदियो भने बसपार्क चाँडै सञ्चालन हुनसक्छ। पञ्चायतकालीन प्रधानमन्त्री मरिचमान सिंहकै पालाबाट बनेको यो बसपार्कको स्तरोन्नति चौथो पटकमा २०७४ सालदेखि सुरु भएर २०८२ वैशाखमा सम्पन्न भएको थियो। यो बसपार्कमा सोधपुक्ष कक्ष, टिकट काउन्टर, सर्भिसिङ सेन्टर, बैंक शाखा, प्रतीक्षालय, शौचालय, रेष्टुरेन्ट, मिनिमार्केट, सभाहल र प्रहरी बिट सञ्चालन गर्नेसम्मको पूर्वाधार छ। 


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।