रूपन्देही । शान्ति र सद्भावप्रति समर्पित वातावरण । जता हर्यौं उता चिबर पहिरिएका पहेला बस्त्रधारी । बुद्धम्, शरणम् गच्छामीको गुन्जायमान धुन । छुट्टै माहोल । बुद्ध जन्मस्थल लुम्बिनी पुरै भिक्षुमय बनेको छ ।
मुलुकका विभिन्न ३० जिल्लाका दुई सय ५१ जनाले सामूहिक रूपमा प्रवज्या लिएर अल्पकालीन भिक्षु श्रामनेर बनेका छन् । बुद्ध जन्मस्थल लुम्बिनीमा २१ दिनसम्म ध्यान, साधना र धम्म शिक्षा लिएर उनीहरू फर्किएका छन् । श्रामनेर, भिक्षु जीवन प्रवेशको पहिलो खुटकिलो हो ।
भिक्षु जीवनको शुभारम्भ गर्नु हो । उनीहरू २१ दिनसम्म भिक्षु बने । भिक्षु जीवनमा प्रवेशसँगै उनीहरूले बुद्ध शिक्षा, शिल र चिबर लिएर भिक्षु जीवन धारण गरे । भगवान् गौतम बुद्धको अनुयायी बन्न पनि कठिन परिश्रम र संघर्षबाट मात्र हुन सकिन्छ भन्ने अनुभूति दिलाउन उनीहरूलाई पारिवारिक सुखसुविधाबाट अगल बनाएर राखिएको थियो ।
नव प्रवेशी श्रामनेरलाई ७५ सेखिया विनय शिक्षापद र १० शिल सिकाइएको थियो । तच पंचक ध्यान सिकाइएको थियो । बुद्ध जीवनी, लुम्बिनीको इतिहास, बौद्ध शिक्षाको महत्व र बुद्धले बुद्धत्व प्राप्त गर्दा पाएको कष्ट पीडाबारे जानकारी दिइएको थियो ।
त्यस्तै भिक्षु जीवन, करूणा, मैत्री सद्भाव र भाईचारालगायतका विषयमा ज्ञान दिइएको छ । उनीहरूले बुद्ध दर्शन र शिक्षा व्यवहारमा राम्ररी अनुसरण उतारेको पाइयो भने भिक्षु बन्न ईच्छुकलाई दुई चार महिनामै भिक्षु संघले पूर्ण भिक्षु बनाउने सक्ने अखिल नेपाल भिक्षु महासंघले जनाएको छ ।
बुद्ध धर्मअनुसार शाक्यमुनिहरू एकदिनका लागि भए पनि भिक्षु बन्नै पर्छ भन्ने मान्यता छ । प्रवज्या लिएकाहरू कतिपय भिक्षु नै बन्छन् भने धेरै जना फेरि। गृहस्थी जीवनमै फर्कन्छन् । थाई भारत-नेपाल धम्मदूत एसाेसिएसन र अखिल नेपाल भिक्षु महासंघद्वारा लुम्बिनीमा प्रवज्या शिविर आयोजना गरिएको थियो ।
कार्यक्रममा १२ देखि ७२ वर्ष उमेरसम्मका सहभागी थिए । कृषकदेखि शिक्षक, व्यवसायी, चित्रकार, वकिल, सञ्चारकर्मी र स्वास्थ्यकर्मीसमेत भिक्षु बनेका थिए । उनीहरूलाई धम्म यात्रा गराउँदै लुम्बिनी, भैरहवा, देवदह र रामग्राम लगिएको थियो । त्यहा उनीहरूलाई ध्यानभावना, भिक्षाटन र परित्रान पाठ गर्न सिकाइएको छ ।
उनीहरूलाई आफ्नो दैनिक जीवनयापनका लागि गर्नु पर्ने काम पनि सिकाइएको थियो । अल्पकालीन भिक्षु हुँदा पाएको बुद्ध वचन, ज्ञान र शिक्षा मात्रै पनि अनुसरण गर्न सकियो भने जीवनयापन सहज हुने उनीहरू बताउँछन् । करूणा मैत्री, दयामाया र सद्भाव जस्ता सकारात्मक कुरालाई सही काममा प्रयोग गरेर सुधार गर्न सकियो भने जीवन सार्थक बनाउन धेरै सहज हुने उनीहरूको बुझाइ छ ।