
काठमाडौं । लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मा पक्राउ पर्नुभएको छ ।
एमालेबाट निर्वाचित उहाँ आइतबार राति काठमाडौंको धुम्बराहीबाट पक्राउ पर्नुभएको हो । उहाँलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको कार्यालय प्रमुख एवं प्रहरी वरिष्ठ उपरिक्षक सन्तोष खड्काले बताउनुभयो ।
उहाँमाथि नाबालिकालाई घरेलु कामदारका रूपमा राखेर बालबालिकाविरूद्धको कसुर गरेको आरोप छ । केही वर्ष पहिला उनको घरबाट एक बालिकालाई काठमाडौं महानगरपालिले उद्धार गरेको थियो । ती बालिकाबारे तत्कालीन काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले २९ माघ २०८१ मा आफ्नो फेसबुक वालमा 'सरी नानु ! तिम्रा पीडकका विरुद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनू । समय आउनेछ' भनेर लेख्नुभएको थियो ।
साथै उहाँले 'यस्तै विभेद, अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तह लगाउन तिमी र तिमीजस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्नुपर्छ' भन्ने पनि उल्लेख गरेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंमा यो घटनाको २०८१ जाहेरी जेठ ३० गते दर्ता भएको थियो।