सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीशमा सपना प्रधान मल्ल

चैत्र १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीशमा सपना प्रधान मल्ल

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बुधबारदेखि कायममुकायम प्रधानन्यायाधीश हुनु भएको छ । 

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदले अवकाश भएपछि वरिष्ठतम न्यायाधीश मल्लले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नु भएको हो । नेपालको संविधानको धारा १२९(९) मा प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने उल्लेख छ ।

वरिष्ठ अधिवक्ता एवं पहिलो संविधानसभा सदस्य रहनु भएकी सपना प्रधान मल्ल १७ साउन २०७३ मा सर्वोच्च अदालतको न्यायाधीश हुनुभएको थियो । उहाँ सर्वोच्च अदालतमा करिव एक दशक कार्यरत रहँदा लैंगिक एवं घरेलु हिंसा एवं संवैधानिक मामिला जोडिएका कैयौ मुद्दामा दुरगामी असर पार्ने नजिर प्रतिपादन गर्नुभएको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको कार्यकाल मंगलबारदेखि सकिएको हो । प्रधानन्यायाधीश राउत २०८१ असोज २० गते सर्वोच्च अदालतको नेतृत्वमा आउनुभएको थियो । अवकाशमा जाने भएपछि उहाँ एक महिनाअघिदेखि नै बिदामा हुनुहुन्थ्यो । 

बार र बेन्चको टकराव भएको स्थितिमा कार्यभार सम्हाल्नुभएका राउतको कार्यकालमै यो विवाद साम्य भएको थियो । उहाँकै कार्यकालमा न्यायाधीश नियुक्तिदेखि पुराना मुद्दा फर्छ्योटमा पनि प्रगति देखिएको थियो । सर्वोच्च अदालतले आठ वर्षभन्दा पुराना मुद्दाको सुनुवाइ शून्यमा झरेको पनि घोषणा गरेको थियो ।

राउतकै कार्यकालमा सर्वाधिक चासोको संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिको विवाद पनि टुंगिएको थियो । समग्रमा राउतको कार्यकालमा न्यायालय सुधारका प्रयास भए पनि संरचनागत समस्या निराकरण भने हुन सकेनन् । न्यायपरिषद् सुधार, पारदर्शी नियुक्तिलगायतका विषय ओझेलमा परिरहे । 

दैनिक पेसी सूचीमा हेर्न नभ्याइने र हेर्न नमिल्ने मुद्दाको संख्या घटनाउन पनि राउतको तदारूकता त्यति प्रभावकारी देखिएन । यसैबीच, भावी प्रधानन्यायाधीशको नियुक्तिको गृहकार्य भने सुरू भएको छैन । न्यायपरिषद्‌ले ६ जनाको नाम सिफारिस गरे पनि संवैधानिक परिषद्‌को संरचना नै पूर्ण भएको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.