
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनपछि बिहीबार संघीय संसद् बैठक बस्दैछ ।
बैठकको तयारीका लागि बुधबार संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक बोलाइएको छ । दिउँसो दुई बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बस्ने बैठकको अध्यक्षता भने जेष्ठ सदस्य अर्जुननरसिंह केसीले गर्ने संसद्का महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
संघीय संसद् सचिवालयको आयोजनामा हुन लागेको बैठकमा सरकारको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम सहभागी हुने बताइएको छ । बैठकले बिहीबारको बैठकका एजेन्डा तय गर्ने छ। सर्वदलीय बैठकमा रास्वापाबाट ५, कांग्रेस र एमालेबाट २/२ जना र नेकपा, राप्रपा र श्रम संस्कृतिबाट एक/एक जनाको उपस्थिति हुने छ ।
रास्वपाबाट, कबिन्द्र बुर्लाकोटी, समीक्षा बास्कोटा, विपिन आचार्य र अमरेशकुमार सिंह बैठकमा जाने बताइएको छ । त्यस्तै कांग्रेसबाट मोहन आचार्य, एमालेबाट गणेशसिंह ठगुन्ना र गुरुप्रसाद बुर्लाकोटीले दलको प्रतिनिधित्व गर्नुहुनेछ । नेकपाबाट वर्षमान पुन, राप्रपाबाट खुस्बु ओली र श्रम संस्कृति पार्टी आरेन राईको पनि उपस्थिति हुने बताइएको छ।