
काठमाडौं । कान्तिपुर मिडिया ग्रुप- केएमजीको ग्रुप एडिटोरियल डाइरेक्टरमा पत्रकार अनुप काफ्ले नियुक्त हुनुभएको छ।
काफ्लेलाई कान्तिपुर दैनिक, दि काठमान्डु पोस्ट, कान्तिपुर टेलिभिजन, रेडियो कान्तिपुरसहित कान्तिपुर मिडिया ग्रुपअन्तर्गतका सबै डिजिटल प्लेटफर्मको सम्पादकीय नेतृत्व सम्हाल्ने गरी नियुक्त गरिएको हो।
काफ्ले यसअघि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू दि वासिङटन पोस्टमा डिजिटल सम्पादक र बजफिड न्युजमा अन्तर्राष्ट्रिय सम्पादक रहिसक्नुभएको छ। कान्तिपुरमा आबद्ध हुनुअघि काफ्ले रेस्ट अफ दि वर्ल्डमा करिब ६ वर्षदेखि प्रधान सम्पादकका रूपमा कार्यरत हुनुहुन्थ्यो।
नेपालमै पत्रकारिता सुरू गरेका काफ्लेले यसअघि ‘काठमाडौं पोस्ट’ को प्रधान सम्पादकको जिम्मेवारी पनि सम्हालिसक्नुभएको छ। केएमजीका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले एकीकृत सम्पादकीय दृष्टिकोण र सशक्त नेतृत्वको आवश्यकता पूरा गर्न यो पद सिर्जना गरिएको बताउनुभएको छ।
केएमजीले काफ्लेको अनुभवलाई परम्परागत पत्रकारितालाई डिजिटल रूपान्तरणतर्फ लैजान उपयोग गर्ने विश्वास व्यक्त गरेको छ। काफ्लेले स्वतन्त्र र जिम्मेवार पत्रकारिताको खाँचो रहेको अहिलेको अवस्थामा कान्तिपुरको अर्को अध्याय निर्माण गर्न पाउनु आफ्नो लागि दुर्लभ अवसर भएको बताउनुभएको छ ।