इनिसा विक प्रकरण : अदालतमा अभियोग पत्र पेस

चैत्र १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
इनिसा विक प्रकरण : अदालतमा अभियोग पत्र पेस

सुर्खेत । सुर्खेतकी १६ वर्षीया इनिसा विकको सामूहिक जबरजस्ती करणीपछि हत्या गरिएको दाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा अभियोग पत्र पेस गरेको छ ।

सरकारी वकिलको कार्यालयले आइतबार चारै जना अभियुक्तलाई सामूहिक बलात्कार अभियोगमा १० देखि १२ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना र कर्तव्य ज्यान मुद्दामा आजीवन जन्मकैद माग दाबी गर्दै जिल्ला अदालतमा सुर्खेतमा मुद्या दायर भएको हो ।

अभियुक्तहरू चारै जना नाबालक भएका कारण कुल सजायको दुई तिहाइ कैद दाबीसहित अभियोगपत्र दायर गरिएको छ । प्रहरीले अनुसन्धान सकेर गत बुधबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । अभियुक्तहरूको आइतबारदेखि नै बयान लिन सुरू गरिए पनि सोमबारमात्रै थुनछेक बहस हुने जिल्ला सुर्खेत अदालतका सूचना अधिकारी उज्जवलदेव रावलले जानकारी दिनुभयो । 

पीडितपरिवार र अधिकारकर्मीहरूले आइतबार पनि दिनभर अदालत अगाडि धर्ना र नाराजुलुस गरेका छन् । अनुसन्धानप्रति अविश्वास जनाउँदै आएका पीडितपरिवार र अधिकारकर्मीहरूले निष्पक्ष ढंगले घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् । 

गत फागुन २३ गते मृत्यु भएकी इनिसाको शव तीन साता बित्दासमेत उठ्न सकेको छैन । पोस्टमार्टम रिपोर्टप्रतिसमेत असन्तुष्ट परिवारले पुनः अनुसन्धान माग गरिरहेका छन् । इनिशाको शव प्रदेश अस्पतालको शवगृहमा राखिएको छ । छोरीको मृत्युपछि एक महिना छुट्टी लिएर नेपाल फर्किएका इनिसाको बुबाको बिदा सकिन थालेको छ । 

प्रहरीले अहिलेसम्म घटनाको खुलेर जानकारी नगराएका आरोप लगाउँदै इनिसाका बुवा इन्द्र विकले न्याय नपाइने हो कि भन्ने चिन्ता बढेको बताउनुभयो । घटनाबारे सीआईबीसहित नेपाल प्रहरीका चार टोलीले अनुसन्धान गरेका थि‌ए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.