रोजगारीसहितका अधिकार सुनिश्चित गर्न माग गर्दै सप्तरीमा मुसहर समुदायको प्रदर्शन

चैत्र १५, २०८२ |आरएन विश्वास
रोजगारीसहितका अधिकार सुनिश्चित गर्न माग गर्दै सप्तरीमा मुसहर समुदायको प्रदर्शन

राजविराज । रोजगारी अभावमा जिविकोपार्जन गर्न समेत धौंधौं भइरहेको भन्दै आइतबार सप्तरी सदरमुकाम राजविराजमा रोजगारीसहितका अधिकार सुनिश्चित गर्न माग गर्दै मुसहर समुदायले प्रदर्शन गरेको छ।

नेपाल राष्ट्रिय मुसहर संघको सप्तरी समितिको अगुवाइमा मुसहर समुदायमाथि हुँदै आएको विभेद अन्त्य गर्नुपर्ने मागसहित प्रदर्शन गरिएको हो। संघले मुसहर समुदाय अझै पनि आर्थिक, सामाजिक, शैक्षिक तथा राजनीतिक रूपमा पछाडि परेको उल्लेख गर्दै गरिबी, अशिक्षा, भूमिहीनता र अवसरको अभावका कारण समुदायमा गम्भीर समस्यामा रहेको दु:खेसो गरेका छन्।

संघले राज्यको ध्यानाकर्षण गराउँदै २८ बुँदे मागसमेत सार्वजनिक गरेको छ। जसमा निःशुल्क तथा गुणस्तरीय शिक्षा, युवालाई रोजगारीको सुनिश्चितता, सुरक्षित आवास व्यवस्था, सुकुम्बासीलाई लालपुर्जा उपलब्ध गराउनुपर्ने, स्वास्थ्य सेवा तथा बीमाको पहुँच विस्तार तथा मुसहर आयोग गठनजस्ता माग समेटिएका छन्।

त्यस्तै वैदेशिक रोजगार प्रक्रियालाई सरल, सुलभ र पारदर्शी बनाउनुपर्ने, सीपमूलक तालिमको पहुँच विस्तार गर्नुपर्ने, नागरिकतासम्बन्धी समस्या समाधान गर्नुपर्ने तथा प्राविधिक शिक्षामा समान अवसर सुनिश्चित गर्नुपर्ने माग पनि राखिएको छ।

संघले बेरोजगार युवालाई भत्ता वा रोजगारीको व्यवस्था गर्नुपर्ने, ५० वर्षमाथिका मुसहर नागरिकलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनुपर्ने तथा दिनाभद्री मन्दिरलगायत धार्मिक तथा सांस्कृतिक स्थलहरूको संरक्षण र विकास गर्नुपर्नेमा जोड दिएको छ। 

उनीहरूले आफ्ना माग वर्तमान सरकारबाट सम्बोधन हुने ठुलो आश राखेकोसमेत भनेका छन्। यसैबीच मुसहर समुदायका कुल देउता दिनाभद्रीको ११औँ जन्मोत्सव पनि मनाईएको छ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।