हात्तीको बच्चाको वैदिक न्वारन : पर्सा हात्तीसारमा ‘श्रीरामचन्द्र गज’ नामकरण

चैत्र १५, २०८२ |उपेन्द्र ठाकुर
हात्तीको बच्चाको वैदिक न्वारन : पर्सा हात्तीसारमा ‘श्रीरामचन्द्र गज’ नामकरण

वीरगञ्ज । मानिसकोजस्तै हात्तीको पनि न्वारन संस्कार गरिन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ। तर, नेपालको हात्तीसारमा रहेका हात्तीहरूले बच्चा पाउँदा वैदिक परम्पराअनुसार त्यसको न्वारन संस्कार गरिन्छ । 

पर्सा राष्ट्रिय निकुन्जको हात्तीसारमा रहेकी राप्तिकली नाम गरेकी माउ हात्तीको बच्चाको सनातन वैदिक परम्पराअनुसार न्वारन गरिएको छ । सार्वजनिक बिदाको दिन पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारीहरू उत्सव मनाउन हात्तीसारमा भेला भए। यो निकुन्जकै हात्तीसारमा जन्मेको राप्तिकलीको बच्चाको न्वारनको उत्सव थियो। 

छेवैमा राखिएको टेबलमाथि माला, फलफूल र प्रसाद सजाएर राखिएको थियो । हात्तीसारका माउतेहरू राप्तिकली र उनले पाएको १२ दिनको बच्चालाई सिँगार्ने काममा व्यस्त थिए भने वार्डेन लगायतका कर्मचारीहरू न्वारन संस्कारका लागि गरिने पूजाकर्ममा व्यस्त थिए । 

पण्डितजीको आगमनसँगै सनातन बैदिक परम्पराअनुसार मन्त्रोच्चारण गर्दै बच्चाको नामाकरण गरियो । रामनवमीको दिन गरिएको न्वारनअनुसार राप्तीकलीले जन्माएको बच्चाको नाम श्रीरामचन्द्र गज नामाकरण गरिएको छ । २८ वर्षीय राप्तिकलीले पहिलो पटक बच्चा जन्माएको देख्दा राप्तिकलीकै स्याहारमा खटिने माउते अजय चौधरी पनि निकै उत्साहित हुनुहुन्छ । 

यसअघि राप्तिकलीले गर्भधारण गरे पनि बच्चा तुहिएको बताउने चौधरीले आफूले स्याहारेको हात्तीले बच्चा पाउँदा र उसको न्वारन संस्कारमा पनि सहभागी हुन पाउँदा आफू निकै हर्षित भएको बताउनुहुन्छ । श्रीरामचन्द्र गजको न्वारण कर्ममा सहभागी निकुन्जकै पशु चिकित्सक शर्मिला ढकाललाई भने हात्तीसारमा भैरहेको यो कार्य निकै नौलो लागिरहेको थियो । 

अन्य धेरै घर पालुवाको स्वास्थ्य उपचारमा संलग्न भए पनि जंगली जनावरलाई पहिलो पटक सुत्केरी गराएको बताउने शर्मिला हात्तीको न्वारन संस्कारमा पनि संलग्न भएकोमा आफू निकै उत्साहित भएको बताउनुहुन्छ । १० वटा हात्तीको दरबन्दी भएको पर्सा राष्ट्रिय निकुन्जको हात्तीसारमा ७ वटा हात्तीहरु छन् । 

राप्तिकली तिमध्येकै एउटा पोथी हात्ती हुन् । जसले आफ्नो २८ वर्षको उमेरमा पहिलो पटक श्रीरामचन्द्र गजलाई जन्म दिन सफल भएकी हुन् । जंगली हात्तीको संसर्गबाट गर्भधारण गरी बच्चा जन्माउने राप्किलीको माध्यमबाट यो हात्तीसारमा एउटा नयाँ सदस्य थपिँदा यहाँका कर्मचारीहरू निकै उत्साहित छन् ।


Image

उपेन्द्र ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका पर्सा संवाददाता हुन् ।