रवि बाहिरिएपछि जेलमा आक्रमण भयाे, तत्कालीन सरकारले आतंकवादी क्रियाकलाप गरेको बालेन्द्रको बयान

चैत्र ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
रवि बाहिरिएपछि जेलमा आक्रमण भयाे, तत्कालीन सरकारले आतंकवादी क्रियाकलाप गरेको बालेन्द्रको बयान

काठमाडौं । जेन-जी आन्दोलनको घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेलबाट बाहिर निस्किएको समाचारपछि देशभरका जेलमाथि आक्रमण भएको उल्लेख गरेको छ ।

सभापति लामिछानेलाई निकालिएपछि देशभरका जेल अशान्त भएको प्रतिवेदनमा उल्लेख छ । लामिछाने बाहिर निस्किएको केही समयपछि ठूलो भीड आएर जेलमा आक्रमण गरी कैदीहरूलाई बाहिर निकाल्ने कार्य भएको देखिन्छ । यो समाचार सामाजिक सञ्जालमा प्रेषित भएपछि काठमाडौंलगायत देशका अन्य भागमा पनि जेल आक्रमणको सिलसिला सुरू भयो । नख्खु कारागारको घटनापछि अन्य ठाउँमा पनि जेल तोडफोड गर्ने, आगजनी गर्ने र कैदीबन्दी भगाउने तथा कैदीबन्दी आफैं भाग्ने कार्य भएको संकलित प्रमाणबाट देखिन्छ ।

यता सभापति लामिछानेले भने २४ गतेको घटनामा आफू र आफ्नो पार्टी संलग्न नभएको बताउनु भएको छ । लामिछानेले २४ गते आफू नख्खु कारागारबाट नभागेको, बरू कारागार प्रशासनका सुरक्षा अधिकारी र अरू कर्मचारीले सुरक्षाका कारण आफूलाई कारागार बाहिर गइदिन अनुरोध गरेको बयान दिनु भएको छ । 

भीड नख्खुतिर आउँदै गरेको र त्यस्तो अवस्थामा सुरक्षाकर्मीको आग्रहमा आफूले भीडलाई सम्झाएको उहाँको जिकिर छ । कारागार प्रशासनकै निर्देशनमा भीडको जिम्मा लगाइएको भन्दै उहाँले निस्कन नचाँहदा नचाँहदै जबर्जस्ती बाहिर पठाइएको जिकिर गर्नुभयो । लामिछाने पुन: भदौ २८ गते नख्खु कारागार फर्किनु भएको थियो ।

यता काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाहले भने २३ गतेको शान्तिपूर्ण र्यालीमा आफ्नो समर्थन भए पनि आन्दोलनमा नभएको बताउनुभएको छ । उहाँले रेष्टुरेन्ट र व्यवसायीहरूको आग्रहमा महानगर प्रहरीले आन्दोलनकारीलाई पानी वितरण गरेको पनि उल्लेख गर्नुभएको छ । 

यस्तै, राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलको आग्रहमा आन्दोलन शान्त पार्न भूमिका खेलेको उहाँको दाबी छ । उहाँले २४ गतेको आगजनी नियन्त्रणका लागि महानगरले समयमै दमकल पठाएको र महानगरभित्रका संरचना महानगरकै दमकलले नियन्त्रणमा लिएको समेत जिकिर गर्नुभएको छ । 

बयानमा उहाँले तत्कालीन सरकारले अपराध र आतंकवादी क्रियाकलाप गरेको आरोप पनि लगाउनुभएको छ । काठमाडौं महानगरको फोहोर बोक्ने गाडी बन्चरेडाँडा जाँदै गर्दा अनावश्यक रोकेपछि विरोधस्वरुप मेटाफोरका रुपमा फेसबुकमा अभिव्यक्ति दिएकोमा 'जलाई दिन्छु' शब्द प्रयोग नभएको उहाँको जिकिर छ । 

आफ्नो सामाजिक सञ्जालको अभिव्यक्तिले आन्दोलनलाई शान्त पार्न मद्दत गरेको भन्दै महानगर प्रहरी र अन्य विभागसँग समन्वय गरेर घाइते र मृतकका परिवारलाई तत्काल आवश्यक सहयोग प्रदान गरेको उहाँको दाबी छ । जेन-जी आन्दोलनको आयोजकका रूपमा सुदन गुरूङ, रक्षा बम, पुरूषोत्तम यादवले पनि आन्दोलनमा आफ्नो सहभागिता रहेको भए पनि २४ गतेको घटनामा भूमिका नरहेको बयान दिएका छन् । 

उनीहरूले राज्यले दमन गरी गोली हानी हत्या गरेका सहिदहरूको न्यायका लागि दमन पक्षका जिम्मेवार व्यक्तिहरुलाई कानुन बमोजिम सजाय र तोडफोड आगजनी जस्ता विध्वंश कार्यमा संलग्नहरूलाई कानुनी कारबाही गर्न माग गरेका छन् ।

आयोगमा गुरूङ, बम र यादवसहित ९ जनाले बयान दिएका छन् । प्रत्यक्षदर्शी, घाइते र मृतक परिवारको तर्फबाट ६९ जनाले बयान दिएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.