कपिलवस्तु । तराईका गाउँघर, वनपाखा र बस्ती काफल पाक्यो र कोहो कोइलीका आवाजले मनमोहक बनेको छ ।
पहाडका वनपाखा कुक्कुको सुमधुर आवाज गुञ्जिन्छ । मानिसलाई मोहित र रोमाञ्चक बनाउने कोइली यी तीनवटै प्रजाति गर्मीमा आउने आगन्तुक चरा हुन्। यी चराको कोकिलकण्ठे आवाजले सिंगो वातावरणलाई मनोरम बनाइरहेको छ ।
यी आवाज कोईलीका विभिन्न प्रजातिका हुन्। यी आवाज सुनेसँगै ऋतु परिवर्तनको आभाष हुन्छ। वसन्त ऋतुको सुरूवात भएसँगै गृष्मकालीन आगन्तुक चरा नेपाल आएका हुन्। बचेरा हुर्काउने नेपाल आउने क्रममा यी कोईलीका प्रजातिपनि यहाँ आएका चराविद्हरू बताउँछन् ।
नेपालमा पाइने कोईलीका २० मध्ये १६ प्रजातिका गर्मीका बेला आउने आगन्तुक चरा हुन् । नेपालमा सबैभन्दा पहिले फेब्रुअरी अन्त्यतिर कटुस टाउके मुरलीचरा आएको चराविद्हरू बताउँछन् । चितवन निकुञ्जमा मुरली चरा रमाउँदै गर्दा पूर्वी नवलपरासीको कावासोतीस्थित सामुदायिक वनमा स्वर्गचरीको चहलपहल उस्तै देखिन्छ। उता लुम्बिनी उपवनमा निलपुछ्रे मुरलीचरा रमाएको देखिन्छ ।
करिब ५० प्रजातिका गृष्मआगन्तुक चरा नेपाल आइ सकेका छन्। नेपालमा गाजले सुनचरी, सुन्तले चाँचर, राजचरी, जलकुखुरा र चित्रक पिट्टा आइसकेका छन्। त्यस्तै गाजले पिट्टा, लालचुच्चे ठेउवा, रानी चरी, ठिमाहा फ्यालफ्याले, कस्तुरा चाचर र कागठूडे चिबेपनि आइसकेका छन्।
उनीहरूमध्ये प्राय: सबै बचेरा कोरलेर हुर्काउन आउँछन्। गृष्मकालीन पाहुना चरा आएर सबैभन्दा पहिले यहाँको वातावरण बुझछन् । त्यसपछि सुरक्षाको जोखिम बुझदै गुँड लगाउने ठाउँ र खानेकुरा लगायत हेरेर बच्चा हुर्काउने स्थान रोज्छन् । चराले यहाँ वनका रूख, नदी खोलाका किनार र खेतवारीमा गुँड लगाउँछन् ।
वसन्त ऋतुसँगै भारत, श्रीलंका, दक्षियापूर्वी एसियाका थाइल्यान्ड, म्यानमार, मलेसिया र इनडाेनेसियासम्मबाट चरा यहाँ आइ पुग्छन् । उनीहरू ४/५ दिनदेखि साता/दश दिन लगाएर महिना अघिदेखि नेपाल आउन थालेका हुन् । बच्चा हुर्काएर उनी फेरि जहाबाट आए उतैतिर फर्कन्छन् ।
नेपाल आएर चराले गुँडका लागि ठाउँ खोज्न थाली सकेका छन् । छनाेट गरेको ठाउँमा खरपात, घुरपात राख्ने चाजोपाजो मिलाउँदै छन्। जंगलमा नयाँ पालुवा र प्रसस्त चराका चिरबिर सुरू भएपछि वातावरण मनोरम बनेको छ । यहाँका चितवन, बर्दिया, शुक्लाफाँटा, पर्सा र बाँके राष्ट्रिय निकुञ्जमा चरा बच्चा कोरल्न आएका छन्।
त्यस्तै कोशी टप्पु, शिवपुरी जंगल र अन्नपूर्ण संरक्षण क्षेत्रमा पनि बच्चा कोरल्न चरा आएका हुन् । अधिकांश तराई, केहीले मध्य-पहाड तथा न्यून प्रजाति उच्च हिमाली भेगमा गुँड लगाउन पुगेका छन् । नेपालमा ९ सय ३ प्रजातिका चरा पाइएको अभिलेख छ। जसमध्ये ६० प्रजातिका चरा गृष्म आगन्तुक हुन्।