
इलाम । जमीन भास्सिने क्रम नरोकिएपछि मेची राजमार्गअन्तर्गत इलामको माईखोला राजदुवाली खण्डको भविष्यबारे फेरि चिन्ता थपिएको छ।
सडक डिभिजन कार्यालयले त्यस क्षेत्रको सडक निर्माणका लागि निरन्तर काम गरिरहेको भए पनि बर्खायाममा यो खण्ड यात्राका लागि सुरक्षित होला त? भन्ने आशंक यथावत् छ।
मेची पहाडको लाइफ हो मेची राजमार्ग । तर, इलाममा पर्ने राजदुवाली खण्डको समस्या समाधान हुन नसक्दा यात्रा असुरक्षित त भएको छ नै। इलामसहितका पहाडी जिल्लाको पर्यटन र दैनिक गतिविधिमा नै असर परेको छ। पछिल्ला दुई वर्षमा जमीन भास्सिएकै कारण पटक/पटक राजमार्ग अवरुद्ध हुने भएको छ।
यो खण्डको दुई किलोमिटर क्षेत्रमा बढी जोखिम छ । बर्खामा बारम्बार राजमार्ग अवरूद्ध हुने भएकाले इलामसहित पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाका बासिन्दाको तराईसँगको सम्पर्क टुट्ने गरेको हो । गत वर्षको दशैँको बेला यो समस्या झन् बिकराल बन्यो ।
माईखोलादेखि इलामतर्फको क्षेत्रमा सडक डिभिजन कार्यालले भित्रको पानी बाहिर फाल्दै समस्याको दिगो समाधानको प्रयास गरिरहेको छ । झापा सीमावर्ती रोङको चिहानडाँडादेखि हर्कटेसम्मको १५ किलोमिटर सडक विस्तार र राजदुवाली क्षेत्रको पहिरो व्यवस्थापनका लागि २४ करोड ९३ लाख रूपैयाँको ठेक्का सम्झौता भई काम भइरहेको छ ।
यो सडकको विकल्पमा केचना-कंचनजंघा सडक र तिल्केनी-सिमलगोलाई सडक सञ्चालनमा ल्याइए पनि गत वर्षको असोज १८ गते आएको भीषण बाढीले जोगमाई र पुवाखोलाको बेलीब्रिज बगाइदियो भने माईखोलाको बेलासेमा रहेको पक्की पुल भासियो।
ती स्थानमा अहिले पुनः बेली ब्रिज निर्माण थालिएको छ। त्यसैले वैकल्पिक सडकको यात्रा पनि सुरक्षित नभएकाले राजदुवाली खण्डकै समस्याको दीगो समाधान खोज्नुपर्ने देखिन्छ ।