चार वर्षपछि झापामा बर्डफ्लू आतंक : कुखुरा नष्ट, किसान त्रासमा

चैत्र ११, २०८२ |रमा दाहाल
चार वर्षपछि झापामा बर्डफ्लू आतंक : कुखुरा नष्ट, किसान त्रासमा

झापा । झापाका दुई वटा पोल्ट्री फार्ममा बर्डफ्लू पुष्टि भएपछि त्यहाँका कुखुरा नष्ट गर्नुका साथै आसपासको क्षेत्रमा सतर्कता अपनाइएको छ। 

बर्डफ्लू संक्रमितमध्ये एच फाइभ एन वान जीवाणू देखिएको दमकस्थित फार्मका सबै कुखुरा नष्ट गरिएको छ। एच नाइन जीवाणू पुष्टि भएको झापा गाउँपालिकास्थित फार्ममा मरेका कुखुरा भने किसानले नै व्यवस्थापन गर्दै आएका छन्। यी दुइटा फार्ममा बर्डफ्लू देखिँदा जिल्लाभरका व्यावसायिक कुखुरापालक किसान त्रासमा छन्।

झापाको दमक नगरपालिका वडा नम्बर १० स्थित दमक एग्रिकल्चर कृषि फार्ममा पालिएका लेयर्स कुखुरामा वर्डफ्लु अर्थात् एच फाइभ एन वान जीवाणू पुष्टि भएपछि सोमबार त्यहाँका कुखुरा नष्ट गरिएको छ। भर्खर मात्रै फुल पार्न सुरू गरेका कुखुरामा बर्डफ्लू लागेर नष्ट गर्नुपर्दा फार्म सञ्चालक देबेन्द्र प्रसाईं चिन्तित हुनुहुन्छ। 

बैंकबाट ऋण लिएर कुखुरामा लगानी गरेका प्रसाईं सरकारबाट उचित क्षतिपूर्ति नपाए व्यवसायबाटै पलायन हुनुपर्ने अवस्थामा पुग्नुभएको छ । बर्डफ्लू पुष्टि हुनासाथ स्थानीय प्रशासनले दमकको यो पोल्ट्री फार्मलाई ६ महिनाका लागि सिलसमेत गरिसकेको छ। यहाँ २० हजार लेयर्स र केही लोकल कुखुरा पनि पालिएको थियो ।

उता झापा गाउँ पालिकास्थित फार्ममा भने एच नाइन जीवाणू देखिएकाले बाँकी कुखुरा नष्ट गर्नुपर्ने अवस्था नरहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अधिकारी बताउँछन्। दमक र झापा गाउँपालिकामा देखा परेको बर्डफ्लू अहिले जिल्लाभर फैलिएको छ। जिल्लाका अधिकांश कुखुरापालक किसान अहिले त्रासमा देखिन्छन् ।

पोल्ट्री व्यवसायी सम्बद्ध संस्थाका पदाधिकारीहरू भने सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तत्काल नियन्त्रण नगर्ने हो भने नेपालको पोल्ट्री व्यवसाय नै धरापमा पर्ने बताउँछन् । २०६५ सालमा झापाको काकरभिट्टाबाट नेपाल भित्रिएको बर्डफ्लू ७८ सालयता भने झापामा देखा परेको थिएन । 

चार वर्षपछि फेरि झापामै फैलिएको बर्डफ्लू महामारी नियन्त्रणमा सरकार चनाखो नहुने हो भने देशैभरको पोल्ट्री व्यवसाय खतरामा देखिन्छ।


Image

रमा दाहाल

दाहाल कान्तिपुर टेलिभिजनकी झापा संवाददाता हुन् ।