
काठमाडौँ । मिथिलाञ्चलमा आज चैती छठअन्तर्गत अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिँदै छ । आइतबारदेखि सुरु भएको चैती छठ पर्वको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्न लागिएको हो ।
बुधवार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै पर्व समापन हुनेछ । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाइन्छ । खरनाको अवसरमा व्रतालुहरूले निराहार उपवास बसी साँझपख षष्ठी देवीलाई प्रसाद चढाई खाने गर्दछन् । प्रसादमा खीर, केरा, दूध एवं विभिन्न प्रकारको फलफूल चढाउने गरिन्छ ।
आज जनकपुरधामको गंगासागर, धनुषसागर, अरगज्जालगायतका पोखरीका साथै गाउँगाउँमा श्रद्धालु भक्तजनहरू चैती छठ पर्व मनाउँदै छन् । कात्तिक महिनामा मनाइने छठ पर्वजतिको संख्यमा श्रद्धालु भक्तजनहरू नभए पनि बिस्तारै चैती छठ पर्व गर्नेहरूको संख्या पनि बढ्दै गइरहेको छ ।