
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभियोग संशोधनविरूद्धको रिट साेमबारपनि ‘हेर्दाहेर्दै’ मा राखिएको छ ।
लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोग पत्र फिर्ताविरूद्धको रिटमा सुनुवाई नसकिएपछि साेमबार पनि ‘हेर्दाहेर्दै’मा राखिएको हो । साेमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि तोकिएपनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।
महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन रहेको सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिनुभएको थियो । सो निर्णयविरूद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र अधिवक्ता युवराज पौडेल सफलले रिट निवेदन दायर गर्नुभएको थियो ।
महान्यायाधिवक्ता भण्डारीले गत पुस ३० गते सदर गरेको ७ पृष्ठ लामो ‘टिप्पणी र आदेश’ मा लामिछानेलाई सहकारी ठगीमा मात्र मुद्दा चलाउने र अन्य दुई गम्भीर प्रकृतिका मुद्दा हटाउन जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिनुभएको थियो ।
साेमबार सरकारी वकिल कार्यलयको तर्फबाट बहस सकिएको छ भने रवि लामिछानेका तर्फबाट बहस सुरू भएको छ । सुशीलकुमार पन्तले रवि लामिछानेको पक्षबाट बहस गर्नुभएको थियो । मंगलबार जवाफी बहस सकिएपछि मुद्दामा आदेश हुनेछ ।