
कपिलवस्तु । पुतली मन नपराउने को होला ? अझ बालबालिका त निक्कै रमाउँछन् ।
उड्दै, बस्दै र रस चुस्दै गरेको रंगीचंगी पुतली देख्दा सबै आल्हादित हुन्छन् । पुतली सबैलाई मनमोहक र सुन्दर लाग्छ । जति हेरे पनि आँखा थाक्दैन, मन भरिदैन् । आफैँमा सुन्दर लाग्ने पुतली देख्दा सबै रोमाञ्चित हुन्छन् । मौसमका हिसाबले अबको तीन महिना पुतली धेरै देखिने समय हो । तर, कृषि उत्पादनमा योगदान पुर्याउने सुन्दर पुतली जलवायु परिवर्तन र बासस्थान विनाशले संकटमा परेका छन् ।
बगैंचा, बारी र वनपाखामा पाइने पुतलीको महत्वपूर्ण पक्ष भनेको परागसेचन हो । मौरीपछि सबैभन्दा बढी पुतलीले पोलिनेटरको काम गर्छ। संसारका ८० प्रतिशत खाद्यान्न उत्पादन गर्न परागसेचन आवश्यक पर्ने अध्ययनले देखाएको छ। वातावरणलाई मनमोहक बनाउने पुतली समाजपयोगी काम पनि गर्छ।
धेरैलाई थाहा नभए पनि अप्रत्यक्ष रूपमा यस्ले उत्पादन बढाउन सहयोग गर्छ। अन्नबाली, तेलहन र फलफुलमा परागसेचन गर्न महत्वपुर्ण भूमिका खेल्छ। फूलमा रस चुस्दा चुस्दै भाले पोथी फूलबीच परागसेचन भई उत्पादनमा राम्रो योगदान गर्छ। पुतलीले जलवायु परिवर्तनको सुचकको रूपमा पनि काम गर्छ । यो स्वस्थ्य वनको सूचक पनि हो ।
आकर्षक देखिने पुतलीले पर्यापर्यटनकालागि समेत भूमिका खेल्ने हुँदा उत्पादनदेखि पर्यटनसम्म पुतलीको महत्व छ । पुतली हेर्न कतिपय पर्यटक नेपाल आउने गर्छन् । नेपालमा समुन्द्री सतहको ७० मिटरदेखि ७ हजार २ सय मिटर उचाइसम्म पुतली पाईएको रेकर्ड छ ।
नेपालमामात्र पाइने पुतली हाम्रा महत्वपूर्ण विविधता हुन् । विश्वकै दुर्लभ ग्रेक हकस्टिक सेलर र केसरी हिन्द पुतली नेपालको गोदावरीमामात्र पाइन्छ । नेपाल वाल, नेपाल स्किपर, नेपाल मेडो ब्लु र मनाङ मेडो ब्लु प्रजातिका पुतली नेपालमामात्र पाइन्छन् । विश्वमा पाइने पुतलीका ६ परिवारकै पुतलीहरू नेपालमा पाइन्छन्।
नेपालमा अहिलेसम्म ६ सय ९५ प्रजातिका पुतली पाइएको रेकर्ड छ । तापक्रममा वृद्धि, बासस्थानको विनाश, विषादीलगायतका कारणले पुतली हराउँदै गएका छन् । सहरी क्षेत्रमा बढिरहेको बाक्लो बस्ती, फूलबिरूवा नहुनु तथा वनजंगलमा लाग्ने डढेलोले पुतलीलाई बासस्थान समस्या भएको छ ।
तराईमा पाइने पहाडमा र पहाडमा पाइने पुतली हिमालमा देखिन थालेको अध्ययनकर्ता बताउँछन् । हिमाली क्षेत्रमा बढ्दै गएको तापक्रमले यस क्षेत्रमा पाइने पुतली थप संकटमा परेका छन् । भूगोलअनुसार पुतलीको आयु सरदर ३ सातादेखि ८ महिनासम्म हुने गरेको छ ।
लामो दूरीसम्म उड्नेको आयु लामो हुन्छ भने एकै ठाउँमा रहने थोरै बाँच्छन् । पुतलीले फूलको रसलाई आहारा बनाउँछ । पुतलीको जीवनचक्र फुल, लार्भा, प्यूपा र वयस्क गरी चार चरणबाट गुज्रन्छ । अन्य जीवबाट बच्नका पुतली पखेटा उपयोग गर्छन् । दिउासो उड्ने पुतली मानिसलाई असर नगर्ने जीव भए पनि रातिमा पाइने केही पुतली हानिकारक हुन्छन्।
मानव समाजलाई फाइदा बढी पुर्याउने हुँदा यस्को संरक्षणमा लाग्नु पर्ने हुन्छ । घर वरिपरि फूल रोपेर, वनमा डढेलो लाग्न नदिए र किटनाशक औषधि प्रयोग कम गर्दै लगेर पुतली संरक्षण गर्न सकिन्छ। त्यस्तै पानीका स्रोत संरक्षण गरेर र पुतलीहरू नमारेर यस्को संरक्षण टेवा पुर्याउन सकिन्छ।