चौतर्फि दबाबकाबीच पनि भएन भदौ २३ र २४ को घटनाबारे जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक

एक साताअघि प्रधानमन्त्रीले बुझिसकेको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय
चैत्र १, २०८२ |कान्तिपुर टीभी संवाददाता
चौतर्फि दबाबकाबीच पनि भएन भदौ २३ र २४ को घटनाबारे जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक

काठमाडौं । विदा हुन लागेको अन्तरिम सरकारले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न आनाकानी गरेको छ। 

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रतिवेदन सार्वजनिक गर्ने अपेक्षाविपरीत प्रतिवेदन ग्रहण गर्नेमात्र निर्णय गरेको हो । आयोगका अध्यक्ष कार्कीसहितको टोलीले गएको साता बालुवाटार नै पुगेर प्रतिवेदन बुझाइसकेको छ। 

प्रतिवेदन स्वयं प्रधानमन्त्री सुशीला कार्कीले सरकारका अन्य मन्त्रीसमेतको उपस्थितिमा बुझिसक्नुभएको हो । प्रधानमन्त्री कार्यालयबाहेक गृहमन्त्री ओमप्रकाश अर्यालसमेतले प्रतिवेदन अध्ययन गरिरहनुभएको थियो । जाँचबुझ आयोगले तयार गरेको पूरै प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र कार्यान्वयतर्फ अघि बढ्नुपर्ने दबाब बढिरहेका बेला सरकारले भने प्रतिवेदन ग्रहण गर्ने औपचारिकतामा सीमित भएको हो।

बालुवाटारमा बसेको मन्त्रिपरिषद्‌को बैठकले प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो । गृहमन्त्री अर्यालले भोलि विस्तृत आउने बताउनुभयो तर भोलि प्रतिवदेन सार्वजनिक हुने हो वा होइन भन्नेबारे बताउन चाहनुभएन ।

यसअघि कान्तिपुर समाचारसँग कुरा गर्दै आयोगका अध्यक्ष कार्कीले सरकारले प्रतिवेदन सार्वजनिक नगरे आफैंले पत्रकार सम्मेलन गरेर प्रतिवेदन सार्वजनिक गर्ने दाबी गर्नुभएको थियो। प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन बुझाएपछि पनि आयोगका सदस्यहरुले कान्तिपुरसँग उस्तै कुरा दोहोर्‍याएका थिए। 

उता प्रधानमन्त्री कार्यालयले भने प्रतिवेदनमा उल्लेख कतिपय विषय संवेदनशील भएकाले प्रतिवेदनको सारमात्र सार्वजनिक गर्ने तयारी सरकारले गरेको बताएको थियो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले यसको पुष्टि गर्नुभएको थियो।

भदौ २३ र २४ को घटनाबारे जाँचबुझ गर्न सरकारले असोज ५ गते ३ महिनाको कार्यादेशसहित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो। तेस्रोपटक थपिएको म्याद सकिनु एक दिनअघि फागुन २४ गते आयोगले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले अध्ययनपछि आवश्यक प्रक्रिया अघि बढ्ने बताउनुभएको थियो। त्यसक्रममा प्रधानमन्त्री कार्कीले आयोगले निष्पक्ष छानबिन गरेकोमा आफू विश्वस्त रहेको उल्लेख गर्दै प्रतिवेदनको निचोड आफ्नै सरकारले सार्वजनिक गर्नेसमेत बताउनुभएको थियो। तर, सरकारको मिति गुज्रिन लाग्दासमेत प्रतिवेदन सार्वजनिक गर्न सरकारले हतारो देखाएको छैन।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.