
रामेछाप । रामेछापको लिखुतामाकोशी गाउँपालिका–१ दुरागाउँमा आइतबार दिउँसो आएको अचानक हावाहुरीका कारण स्थानीय बासिन्दाका घरमा क्षति पुगेको छ।
दिउँसो एक्कासि चलेको तीव्र हावाहुरीले गाउँका कम्तीमा पाँचवटा घरको छानो पूर्णरूपमा उडाएको वडा अध्यक्ष प्रदीप तामाङले जानकारी दिनुभयाे। उहाँका अनुसार हावाहुरीका कारण एक दर्जन हाराहारी घरमा आंशिक क्षति समेत पुगेको छ।
हालसम्म प्राप्त प्रारम्भिक विवरणअनुसार पाँच घरमा ठुलो क्षति भएको र अन्य घरमा सामान्य क्षति देखिएको बताइएको छ। घटनापछि स्थानीय जनप्रतिनिधि र सम्बन्धित निकायले क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने काम गरिरहेको वडा अध्यक्ष तामाङले बताउनुभयाे ।
वडा अध्यक्ष तामाङका अनुसार अहिले पनि प्रभावित घरपरिवारको अवस्थाबारे जानकारी आउने क्रम जारी रहेको छ। क्षतिको यकिन विवरण सङ्कलन भएपछि आवश्यक सहयोग र राहतका लागि पहल गरिने उहाँले बताउनुभयाे।