कस्ताे बन्दैछ बालेन्द्र शाह नेतृत्वकाे सरकार ?

१८ सदस्यीय मन्त्रिपरिषद् बनाइँदै
चैत्र १, २०८२ |अञ्जना लामिछाने
कस्ताे बन्दैछ बालेन्द्र शाह नेतृत्वकाे सरकार ?

काठमाडौं । दुईतिहाइभन्दा दुई सिट मात्र कम ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार गठनको आन्तरिक तयारी थालिसकेको छ । 

पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा रास्वपाले १८ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी गरेको छ । अब बढीमा दुई साताभित्रमा सरकार बनाइने हुँदा मन्त्री छान्न पार्टीभित्र रस्साकस्सी नै चलेको छ । रास्वपाले भने विज्ञताका आधारमा मन्त्री बनाउने लगभग तय छ ।

बढीमा अब दुई साताभित्रमा बालेन्द्र शाह नेतृत्वको सरकार बन्नेछ । रास्वपाको चुनावी घोषणापत्रबमोजिम नै १८ मन्त्रालयसहितको र विज्ञताका आधारमा मन्त्रीहरूको कार्यविभाजन गर्ने गरी सरकार गठन हुने भएको छ । रास्वपाले गृह, परराष्ट्र र अर्थमन्त्रीको नाम लगभग टुंगो लगाइसकेको छ । 

रास्वपा स्रोतका अनुसार गृहमन्त्री डोलप्रसाद अर्याल बन्ने प्रारम्भिक सहमति भएको छ । त्यसैगरी अन्य परिस्थिति विकसित नभएमा परराष्ट्र मन्त्रालय शिशिर खनाललाई र अर्थ मन्त्रालय स्वर्णिम वाग्लेलाई दिइने निश्चित छ । यीबाहेकका मन्त्रालयको नेतृत्वमा नाम टुंगो नलागे पनि विज्ञताका आधारमा छानिने भएको छ ।

सञ्चारमन्त्रीको लिस्टमा मनीष झा र जगदीश खरेलको नाम छ भने पर्यटनमन्त्रीको सम्भावित क्यान्डिडेट विराजभक्त श्रेष्ठ र गणेश पराजुली छन् । यस्तै कानुनमन्त्रीमा सोविता गौतम र यज्ञमणि न्यौपानेको नाम अघि सारिएको छ । स्वास्थ्य मन्त्रालय लेखजंग थापा र तोसिमा कार्कीमध्ये एकको भागमा पर्ने गरी छलफल भइरहेको छ । 

यसअघि अन्तरिम सरकारमा युवा तथा खेलकुदमन्त्री बन्नुभएका बब्लु गुप्ताले फेरि पनि यही मन्त्रालयमा रूचि देखाउनुभएको छ । यस्तै शिक्षामा सस्मित पोखरेल तथा भौतिक पूर्वाधार, ऊर्जा तथा सहरी विकासमा सुनिल लम्सालको नाम अघि सारिएको छ ।

बालेन मन्त्रिपरिषद्‌मा मन्त्री बन्न नयाँ र पुराना दुवै उत्साहित छन् । त्यसैले पहिल्यै मन्त्री बनिसकेकाहरूलाई केही न केही जिम्मेवारी दिने रास्वपाको तयारी छ । नयाँ अनुहारमा सुधन गुरूङ, विपिन आचार्य र लिमा अधिकारी मन्त्री बन्न सक्ने गरी छलफल चलिरहेको छ । रास्वपाले कम्तीमा दुई वर्ष काम गर्ने गरी मन्त्री नियुक्त गर्ने तयारी गरेको छ ।


Image

अञ्जना लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।